जेलबाट सोनम वाङ्चुकको सन्देश : राज्य प्राप्तिका लागि अहिंसात्मक संघर्ष जारी राखौं

लद्दाखमा भएको आन्दोलनको प्रतिशोधस्वरुप सरकारबाट पक्राउ परेका लद्दाका सामाजिक अभियन्ता सोनम वाङचुकले ‘अहिंसात्मक गान्धीवादी’ बाटोबाट राज्य प्राप्तिको संघर्ष जारी राख्न स्थानीय जनतालाई आग्रह गरेका छन् । २५ सेप्टेम्बरमा लद्दाखमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएपछि वाङ्चुकलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरेर जोधपुर जेलमा राखिएको छ ।

दाजु त्सेतान दोर्जे र वकिल मुस्तफा हाजीले जोधपुर जेलमै पुगेर उनीसँग भेट गरेका थिए। त्यसपछि वकिल मुस्तफाले वाङ्चुकको सन्देश भन्दै जारी गरेका छन् । ‘शारीरिक र मानसिक रूपमा म राम्रो अवस्थामा छु । म सबैलाई मेरो बारेमा चिन्ता र प्रार्थनाका लागि धन्यवाद दिन चाहन्छु’ वाङचुकले भनेका छन्,’ज्यान गुमाएका व्यक्तिहरूका परिवारप्रति मेरो गहिरो समवेदना छ, र घाइते तथा पक्राउ परेकाहरूको लागि मेरो प्रार्थना छ।’

उनले चार जनाको मृत्युको निष्पक्ष न्यायिक अनुसन्धान हुनु आवश्यक रहेको उल्लेख गर्दै त्यो नभएसम्म आफू जेलमै बस्न तयार रहेको उल्लेख गरेका छन् । उनले आफू लद्दाखको लागि संविधानको छैटौं अनुसूची र राज्यको दर्जा पाउनुपर्ने मागमा जनताको पक्षामा दृढतापूर्वक उभिएको बताए । ‘लद्दाखको हितमा गर्ने जुनसुकै निर्णयमा म पूर्ण समर्थन गर्छु। म सबै जनतालाई शान्ति र एकता कायम राख्न र हाम्रो संघर्षलाई अहिंसात्मक, साँचो गान्धीवादी तरिकाले अघि बढाउन अपिल गर्दछु’ उनले भनेका छन् ।

वाङचुकले लद्दाखमा समुदाय-आधारित शिक्षाप्रणाली सुधारका लागि प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए । सेप्टेम्बर २४ मा प्रदर्शनकारीहरू र सुरक्षाकर्मीहरूबीच लद्दाखमा झडप भएको भोलिपल्ट उनी पक्राउ परेका थिए । झडपमा केही भवनहरू जलाइएका थिए । बल प्रयोग गर्दा एक जना सैनिकसहित चार प्रदर्शनकारीको मृत्यु भएको थियो।

लद्दाख पहिले जम्मु–कश्मीर राज्यको हिस्सा थियो। तर २०१९ मा केन्द्र सरकारले जम्मु–कश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई दुईवटा केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि लद्दाख स्वतन्त्र केन्द्रशासित प्रदेश बनाइएको थियो।