मासु उत्पादनमा आत्मनिर्भरताको यात्रा

स्थानीय सरकारको प्रभावकारी योजना, किसानमैत्री कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यको उचित उपयोगले कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण सिन्धुलीको कमलामाई नगरपालिकाले प्रस्तुत गरेको छ । विशेषगरी कोरियाली सरकारसँगको सहकार्यमा सञ्चालन गरिएका गाईपालन तथा दुग्ध उत्पादन कार्यक्रमले नगरपालिकालाई दूध तथा मासु उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण सफलता दिलाएको छ । यससँगै बाख्रापालन र कुखुरापालन प्रवद्र्धनका कार्यक्रमहरूले ग्रामीण अर्थतन्त्रलाई थप सबल बनाउने आधार तयार गरेका छन् ।
नेपालको कृषि प्रणाली लामो समयदेखि परम्परागत उत्पादन प्रणालीमा आधारित रहँदै आएको छ । उत्पादन लागत बढ्दै जाने तर आम्दानी अपेक्षाकृत कम हुने अवस्थाले धेरै किसानहरू कृषि पेशाबाट निरुत्साहित भइरहेका बेला कमलामाई नगरपालिकाले कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै अघि बढेको देखिन्छ ।
कोरियाली सरकारको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिएका पशुपालन कार्यक्रमले स्थानीय किसानलाई आधुनिक प्रविधि, उन्नत जातका पशु तथा व्यवसायिक व्यवस्थापनबारे ज्ञान र सीप प्रदान गरेको छ ।
दुग्ध उत्पादनको क्षेत्रमा प्राप्त उपलब्धि विशेष महत्वको छ । एक समय बाहिरी जिल्लाबाट दूध आयात गर्नुपर्ने अवस्था रहेको क्षेत्रमा अहिले स्थानीय उत्पादनले माग धान्न थालेको छ । यसले उपभोक्तालाई ताजा तथा गुणस्तरीय दूध उपलब्ध गराउनुका साथै किसानको आम्दानी वृद्धि गर्न समेत मद्धत पुर्‍याएको छ । दूध उत्पादनसँगै दुग्धजन्य उद्योग तथा व्यवसाय विस्तार पनि बढेको छ । यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको छ ।
गाईपालनसँगै मासु उत्पादनमा समेत आत्मनिर्भरता हासिल हुनु अर्को सकारात्मक पक्ष हो। पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने नगरपालिकाको प्रयासले स्थानीय बजारमा मासुको आपूर्ति सुदृढ भएको छ । यसले बाह्य बजारमाथिको निर्भरता घटाएको मात्र छैन, स्थानीय अर्थतन्त्रमा पैसा घुम्ने वातावरण पनि निर्माण गरेको छ ।
नगरपालिकाले बाख्रापालन तथा कुखुरापालनलाई समेत विशेष प्राथमिकतामा राखेको छ । ग्रामीण क्षेत्रमा सानो लगानीबाट सुरु गर्न सकिने यी व्यवसायले विपन्न तथा साना किसानका लागि आयआर्जनको महत्वपूर्ण माध्यम बनेका छन् । अनुदान, तालिम, प्राविधिक सहयोग तथा बजार व्यवस्थापनका कार्यक्रममार्फत नगरपालिकाले किसानलाई व्यवसाय विस्तारमा प्रोत्साहन गरेको देखिन्छ । विशेषगरी युवाहरूलाई कृषि तथा पशुपालन क्षेत्रमा आकर्षित गर्ने प्रयासले वैदेशिक रोजगारप्रतिको अत्यधिक निर्भरता कम गर्न मद्धत पुग्न सक्छ ।
कमलामाई नगरपालिकाको यो उपलब्धि केवल कृषि उत्पादन वृद्धिसँग मात्र सम्बन्धित छैन । यसले खाद्य सुरक्षा, पोषण सुधार, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पारेको छ । स्थानीय उत्पादन बढ्दा उपभोक्ताले तुलनात्मक रूपमा सस्तो र ताजा खाद्यवस्तु पाउने अवसर प्राप्त गरेका छन् भने किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण बनेको छ ।
यद्यपि प्राप्त उपलब्धिलाई दीर्घकालीन बनाउन केही चुनौतीहरू पनि छन् । उत्पादन वृद्धि भएअनुसार बजार विस्तार, प्रशोधन उद्योग स्थापना, पशु बीमा, रोग नियन्त्रण तथा गुणस्तरीय प्राविधिक सेवाको निरन्तरता आवश्यक छ । किसानलाई उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण मूल्य श्रृंखलासँग जोड्न सकिए मात्र उपलब्धिको दिगोपन सुनिश्चित हुन सक्छ । साथै जलवायु परिवर्तनका कारण कृषि तथा पशुपालन क्षेत्रमा देखिन सक्ने जोखिमप्रति समेत समयमै सचेत हुन आवश्यक छ ।
समग्रमा हेर्दा कमलामाई नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाएको देखिन्छ। कोरियाली सरकारसँगको सहकार्यमा सुरु गरिएको गाईपालन तथा दुग्ध उत्पादन कार्यक्रमको सफलताले स्थानीय सरकारको दूरदर्शी योजना र प्रभावकारी कार्यान्वयनको उदाहरण प्रस्तुत गरेको छ ।
दूध र मासुमा आत्मनिर्भरता हासिल गर्नु मात्र होइन, बाख्रापालन र कुखुरापालनलाई समेत व्यवसायिक रूपमा विस्तार गर्दै नगरपालिकाले ग्रामीण समृद्धिको नयाँ आधार निर्माण गरेको छ । यदि यस्ता कार्यक्रमलाई निरन्तरता र थप विस्तार गर्न सकियो भने कमलामाई नगरपालिका कृषि विकासको नमुना स्थानीय तहका रूपमा स्थापित हुनेमा कुनै शंका छैन । लेखक सिन्धुलीका सफल उद्यमी हुनुहुन्छ । (गोविन्द खड्का, साभारः कमलामाई लेखमाला)