पुजा थापा:
नेपालका अधिकांश युवाको सपना आज पनि वैदेशिक रोजगारीसँग जोडिएको देखिन्छ । राम्रो आम्दानी, उज्ज्वल भविष्य र आर्थिक स्थायित्वको खोजीमा हजारौं युवा हरेक वर्ष विदेशिने गरेका छन्। तर सफलताको बाटो केवल विदेशमै मात्र छ भन्ने सोच सधैं सही नहुन सक्छ । यदि स्पष्ट लक्ष्य, मेहनत, धैर्य र आत्मविश्वास छ भने आफ्नै गाउँठाउँमा बसेर पनि उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ । सिन्धुलीको कमलामाई नगरपालिका–ढुंग्रेवासका कृषक कृष्णबहादुर श्रेष्ठ यसको ज्वलन्त उदाहरण हुन् ।
श्रेष्ठ पनि एक समय सिन्धुलीका धेरै युवाझैं वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । विदेश बसाइँका क्रममा उनले बंगुर फार्ममा काम गर्ने अवसर पाए । धेरैका लागि त्यो केवल एउटा रोजगारी हुन सक्थ्यो, तर श्रेष्ठका लागि त्यो सिकाइको विद्यालय बन्यो । उनले त्यहाँ बंगुर पालन, व्यवस्थापन, उत्पादन र बजार प्रणालीबारे गहिरो अनुभव बटुले। सबैभन्दा महत्वपूर्ण कुरा, उनले सिकेको सीपलाई केवल सम्झनामा सीमित राखेनन्; स्वदेश फर्किएपछि त्यसलाई व्यवहारमा उतार्ने साहस गरे ।
चारवटा बंगुरबाट सुरु गरिएको उनको यात्रा आज ६ सय बंगुर भएको व्यवस्थित फार्मसम्म आइपुगेको छ । करिब २ करोड रुपैयाँ लगानी भएको यो व्यवसाय केवल आर्थिक उपलब्धिको कथा मात्र होइन, सोच, दृढता र निरन्तरताको परिणाम पनि हो । सुरुका दिनहरू सहज थिएनन्, धेरैले बंगुर पालनलाई जोखिमपूर्ण व्यवसाय ठाने।. । कतिपयले बजार छैन भने, कतिपयले लगानी डुब्छ भनेर निरुत्साहित गर्न खोजे। तर श्रेष्ठले अहिले सबैलाई एउटा महत्वपूर्ण पाठ सिकाए, सफल हुन कहिलेकाहीं अरूको शंका होइन, आफ्नै दृष्टिमा विश्वास गर्नुपर्छ ।
आज उनको फार्ममा १ सय माउ बंगुर छन्, जसबाट वर्षेनि २ हजारभन्दा बढी उत्पादन हुन्छ । आफ्नै कटिङ हाउस सञ्चालन गरेर उत्पादनदेखि प्रशोधन र बिक्रीसम्मको प्रणाली विकास गरेका छन् । यसले व्यवसायलाई थप दिगो र प्रतिस्पर्धी बनाएको छ । यो सोचले काम केही पनि पाइन, देशमा केही भएन, पुराना पार्टी र नेताहरुले बिगारे, भन्ने कामचोरहरुलाई गहिरो सन्देश दिएको : काम सानो वा ठूलो हुँदैन; काम गर्ने दृष्टिकोण ठूलो हुनुपर्छ ।
कृष्णबहादुर श्रेष्ठको सफलतामा अर्को प्रेरणादायी पक्ष रोजगारी सिर्जना हो । अहिले उनको फार्मले १५ जनालाई रोजगारी दिएको छ । यसको अर्थ, एउटा व्यक्तिको सफलताले धेरै परिवारको जीवनस्तर सुधार्न सक्छ । बेरोजगारीको समस्या झेलिरहेको समाजमा यस्ता उद्यमहरू आशाको किरण हुन् । आज धेरै युवा अवसर नभएको गुनासो गर्छन् । तर अवसर सधैं तयार अवस्थामा हुँदैन; धेरैपटक अवसर सिर्जना गर्नुपर्छ । श्रेष्ठको यात्राले यही कुरा प्रमाणित गर्छ । उनले अवसर खोजेनन् मात्र, अवसर निर्माण गरे । आफ्नै गाउँमा बसेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने तथ्य उनले व्यवहारमै देखाएका छन् । स्थानीय सरकारको सहयोग पनि उनको सफलतामा सहायक बनेको छ । यसले अर्को महत्वपूर्ण कुरा पनि देखाउँछ व्यक्ति, समुदाय र राज्यबीच सहकार्य भए विकास सम्भव हुन्छ । जब मेहनती व्यक्ति र सहयोगी संरचना एकसाथ आउँछन्, परिवर्तन तीव्र हुन्छ ।
कृष्णबहादुर श्रेष्ठको कथा केवल बंगुर पालनको कथा होइन; यो आत्मनिर्भर कमलामाई निर्माणको तथ्य पनि हो । यो तथ्यले युवाहरूलाई विदेशिनुअघि एकपटक आफ्नै सम्भावना हेर्न प्रेरित गर्छ । विदेश जानु गलत होइन, तर स्वदेशमै सम्भावना देखेर त्यसमा लगानी गर्नु अझ अर्थपूर्ण हुन सक्छ,, कमलामाई नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत किरण नीति तिवारीको बुझाई छ ।
सफलताको सूत्र धेरै जटिल छैन, स्पष्ट योजना, निरन्तर मेहनत, धैर्य र आत्मविश्वास। बाटोमा चुनौती आउँछन्, आलोचना हुन्छ, असफलताको डर पनि हुन्छ । तर जो व्यक्ति लक्ष्यमा केन्द्रित रहन्छ, अन्ततः सफलता उसकै हात लाग्छ । सफलताको ढोका बाहिर होइन, धेरैपटक आफ्नै घरआँगनमै खुल्ने गर्छ । त्यसलाई देख्ने आँखा, समात्ने साहस र निरन्तर प्रयास मात्र चाहिन्छ । (साभारः कमलामाई लेखाला)










