सरजित तामाङ:
स्थानीय तहलाई विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार प्राप्त भएपछि देशभरका पालिकाहरूले आफ्नो शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार तथा शैक्षिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको छ । यद्यपि खेलकुद पूर्वाधारको अभाव, सडक पहुँचको समस्या तथा बजेट कटौती जस्ता समस्याहरुले काम गराईमा केही चुनौतीहरू बाँकी रहेका छन् ।
कमलामाई नगरपालिकाभित्र हाल ७१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमध्ये अधिकांशमा आधारभूत भौतिक पूर्वाधार तथा शौचालयको व्यवस्था भए पनि खेलकुद पूर्वाधार भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । बिबरण अनुसार ३७ वटा विद्यालयमा मात्रै व्यवस्थित खेलमैदान रहेको छ भने बाँकी विद्यालयहरूले सामान्य खुला स्थानलाई खेल गतिविधिका लागि प्रयोग गरिरहेका छन् ।
विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन सक्दैन । खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलमैदानको अभावले विद्यार्थीको समग्र विकासमा असर पुर्याउने सम्भावना रहन्छ । पछिल्लो समय विद्यालयमा खेलकुद गतिविधि विस्तार गर्ने सरकारी नीति भए पनि पर्याप्त जग्गा र बजेट अभावका कारण धेरै विद्यालयले व्यवस्थित खेलमैदान निर्माण गर्न सकेका छैनन् ।
विद्यालय व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष जग्गाको कानुनी व्यवस्थापन हो । कमलामाई नगरपालिका भित्रका ४२ वटा विद्यालयसँग आफ्नै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) रहेको छ । बाँकी विद्यालयहरूको जग्गा नापजाँच सम्पन्न भइसकेको र वडा कार्यालय तथा नगर कार्यपालिका बैठकमार्फत भोगाधिकार प्रदान गरिएको छ । सरकारले ऐलानी जग्गामा बनेका भवन तथा टहरा हटाइरहेका बेला सामुदायिक विद्यालय रहेका त्यस्ता जग्गाका सन्दर्भमा विषेश निर्णय गर्नुपर्ने अबस्था बिद्यमान छ ।
यस्ता सामुदायिक विद्यालयको जग्गाको स्वामित्व सुनिश्चित हुनु दीर्घकालीन शैक्षिक विकासका लागि महत्वपूर्ण विषय हो । जग्गाको कानुनी हैसियत स्पष्ट भएपछि विद्यालयले पूर्वाधार निर्माण, भवन विस्तार तथा अन्य विकास कार्यक्रम सञ्चालन गर्न सहज हुने छ ।
कमलामाई नगरपालिकाले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको राखिरहेको छ । नगरपालिकाले अभिभावकविहीन तथा असहाय बालबालिकाका लागि सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरेको छ । आर्थिक तथा पारिवारिक अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई सुरक्षित आवास र नियमित शिक्षाको अवसर प्रदान गर्ने यो कार्यक्रमलाई स्थानीयस्तरमा समेत सकारात्मक रूपमा हेरिएको छ ।
नगरपालिकाले पछिल्ला वर्षहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएको छ । कृषि, भेटनरी, सिभिल इन्जिनियरिङ र कम्प्युटर शिक्षालाई विद्यालय तहबाटै विस्तार गर्ने नीति लिइएको छ । त्यसैगरी सिक्दै कमाउँदै कार्यक्रमबाट विद्यार्थीहरूलाई रोजगारमुखी तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्य कार्यान्वयन तर्फ अगाडि बढेको छ ।
नेपालमा शैक्षिक बेरोजगारी बढ्दै गएको अवस्थामा प्राविधिक शिक्षा विस्तारलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ । स्थानीय आवश्यकता र श्रम बजारको मागलाई ध्यानमा राखेर सञ्चालन गरिने यस्ता कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षासँगै स्वरोजगार तथा उद्यमशीलतातर्फ पनि आकर्षित गर्न सक्ने आधारहरु निर्माण हुन थालेकाछन् ।
विद्यार्थी संख्या घट्दै जानु तथा शिक्षक दरबन्दीको असन्तुलन देशभरका सामुदायिक विद्यालयको साझा समस्या बनेको छ । यही समस्यालाई समाधान गर्न कमलामाई नगरपालिकाले विद्यालय मर्जिङ तथा शिक्षक दरबन्दी मिलानका लागि विशेष कार्यदल गठन गरेको थियो । सोही कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक सुधारका कामहरू अगाडि बढाइएकोे छ ।
विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई व्यवस्थापन गर्ने, स्रोतको प्रभावकारी उपयोग गर्ने तथा आवश्यकताअनुसार शिक्षक परिचालन गर्ने कार्यले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्न सक्छ । यद्यपि यस्ता निर्णय गर्दा स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाको भावना र आवश्यकता समेत समेटिनुपर्ने अबस्था आउन सक्छ ।
कमलामाई नगरपालिकाको शिक्षा शाखाले विद्यालय, शिक्षक तथा विद्यार्थीसँग सम्बन्धित विवरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरेको छ । नगरभित्रका सबै विद्यालयको तथ्यांक शिक्षा शाखामा अद्यावधिक रूपमा उपलब्ध छ । यसबाट विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक व्यवस्थापन तथा आवश्यकताका विषयमा तत्काल जानकारी प्राप्त गर्न सकिने भएको छ ।
शिक्षा व्यवस्थापनमा तथ्यांकमा आधारित योजना निर्माणलाई प्रभावकारी मानिन्छ। यसले आवश्यकता पहिचान गर्न, स्रोत साधनको वितरण गर्न तथा विकास कार्यक्रमको प्राथमिकता निर्धारण गर्न सहज बनाउने विश्वास गरिएको छ ।
यद्यपि यी सकारात्मक प्रयासका बीचमा पूर्वाधार विकासका केही चुनौतीहरू अझै समाधान हुन सकेका छैनन् । विशेषगरी नगरपालिकाका सबै विद्यालयमा मोटरबाटोको पहुँच पुग्न सकेको छैन । दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूले अझै पनि सडक पहुँचको समस्या भोगिरहेका छन् । यसले शैक्षिक सामग्री ढुवानी, भवन निर्माण तथा अन्य सेवा प्रवाहमा कठिनाइ उत्पन्न गरिरहेको छ ।
केही विद्यालयमा मोटरबाटो पुर्याउने उद्देश्यसहित नगरपालिकाले बजेट विनियोजन गरेको थियो, तर जेनजी आन्दोलनपछि ती योजनाहरूका लागि छुट्याइएको बजेट कटौती हुँदा धेरै कार्यक्रम प्रभावित भएका छन् । यस वर्ष पनि विगतको तुलनामा कम बजेट प्राप्त भएकाले समग्र शिक्षा क्षेत्र प्रभावित हुने चिन्ता छ ।
विद्यालय भवन, खेलमैदान, सडक पहुँच, प्रविधि, पुस्तकालय तथा प्रयोगशाला विकासका लागि निरन्तर लगानी आवश्यक पर्छ । बजेट अभावले यस्ता कार्यक्रमको गति सुस्त हुन सक्ने भएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ ।
समग्रमा हेर्दा कमलामाई नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्राविधिक शिक्षा विस्तार, अभिभावकविहीन बालबालिकाको संरक्षण, विद्यालय व्यवस्थापन तथा तथ्यांक प्रणाली सुदृढीकरणजस्ता क्षेत्रमा उल्लेखनीय काम गरेको देखिन्छ । सडक पहुँचको समस्या र बजेट कटौतीका चुनौतीहरू समाधान गर्न सके मात्र शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सहज हुने देखिन्छ ।
आगामी वर्षहरूमा पर्याप्त लगानी, प्रभावकारी योजना कार्यान्वयन तथा सबै तहको सहकार्य हुन सके कमलामाई नगरपालिकाले सामुदायिक विद्यालय सुधारको नमुना स्थानीय तहका रूपमा आफूलाई स्थापित गर्न सक्ने सम्भावना बलियो देखिएको लेखक विद्यालय निरिक्षक हुनुहुन्छ । (साभारः कमलामाई लेखमाला)











