कमलामाईमा बढ्दैछ उद्यमशिलता

केही वर्षअघिसम्म सरकारी जागिर, वैदेशिक रोजगारी वा परम्परागत कृषि नै आम नागरिकको मुख्य जीविकोपार्जनको आधार मानिन्थ्यो । तर पछिल्लो समय सिन्धुलीको कमलामाई नगरपालिकामा उद्यमशीलताको नयाँ लहर देखिन थालेको छ । साना घरेलु उद्योगदेखि करोडौं लगानीका उत्पादनमूलक उद्योगसम्म स्थापना हुन थालेपछि स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिएको छ । उद्योग र व्यवसायको विस्तारले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने वातावरण निर्माण गरेको छ ।
कमलामाई नगरपालिकाको तथ्यांक अनुसार हाल नगर क्षेत्रमा ३२१ वटा उद्योग तथा व्यवसाय दर्ता भएका छन्। तीमध्ये करिब दुई दर्जन साना–ठूला उद्योग सञ्चालनमा रहेका छन् भने आधा दर्जनभन्दा बढी मिडिया हाउस सञ्चालक कम्पनीसमेत सक्रिय छन् । यो संख्या नगर क्षेत्रमा उद्यमशीलता विस्तार हुँदै गएको संकेतका रूपमा हेरिएको छ ।
स्थानीय तह गठनसँगै उद्योग तथा व्यवसाय दर्ता प्रक्रिया व्यवस्थित बनेको छ । व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरू नगरपालिकामै दर्ता गरेर कानुनी मान्यता प्राप्त गर्न थालेका छन् । यसले व्यवसायीलाई औपचारिक अर्थतन्त्रमा जोड्नुका साथै राज्यको अभिलेख प्रणालीलाई पनि व्यवस्थित बनाएको छ ।
कमलामाई नगरपालिकाका अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा व्यापार, सेवा, उत्पादन र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यवसायहरू उल्लेख्य रूपमा बढेका छन् । विशेषगरी युवाहरूमा स्वरोजगारप्रति आकर्षण बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले पनि आफ्नै ठाउँमा लगानी गर्न थालेका छन् ।
यद्यपि सबै व्यवसाय सफल हुन सकेका छैनन् । नगरपालिकाको अभिलेखले व्यवसाय सञ्चालनमा चुनौती पनि उत्तिकै रहेको देखाउँछ । अघिल्लो आर्थिक वर्षमा दर्ता भएका तर सञ्चालनमा आउन नसकेका वा सञ्चालन भए पनि टिक्न नसकेका ३७ वटा व्यवसायको दर्ता खारेज गरिएको छ । खारेजीमा परेका व्यवसायहरूमा वर्कसप, होटल, फेन्सी पसल, सिलाइ केन्द्रलगायत रहेका छन् ।
व्यवसाय दर्ता भएर पनि टिक्न नसक्नुका पछाडि विभिन्न कारण छन् । पर्याप्त लगानीको अभाव, बजार व्यवस्थापनमा कमजोरी, व्यवसायिक अनुभवको कमी, प्रतिस्पर्धात्मक वातावरण तथा आर्थिक मन्दी जस्ता कारणले कतिपय व्यवसाय लामो समय टिक्न नसकेको सरोकारवालाहरू बताउँछन् । यसले उद्यमशीलतासँगै व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, योजना र बजार व्यवस्थापनको महत्व पनि उजागर गरेको सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भने ।
नगरपालिकामा सञ्चार क्षेत्रसमेत विस्तार हुँदै गएको देखिन्छ । दर्ता भएका व्यवसायमध्ये केही मिडिया हाउस सञ्चालक कम्पनी रहेका छन् । स्थानीय सञ्चार माध्यमहरूले सूचना प्रवाह, जनचेतना अभिवृद्धि र स्थानीय विषयवस्तुलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर दर्ता भएको एउटा एफएम रेडियो भने हालसम्म नवीकरण हुन सकेको छैन ।
कमलामाई नगरपालिकाको कानून शाखाका अनुसार कानुनी जटिलताका कारण नवीकरण प्रक्रिया रोकिएको हो । यस घटनाले सञ्चार संस्था सञ्चालनमा कानुनी प्रक्रिया र प्रशासनिक व्यवस्थापनको महत्वलाई पनि स्मरण गराएको छ ।
कमलामाई नगरपालिकाले स्थानीय उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी महिलाद्वारा सञ्चालित उद्योग तथा व्यवसायलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कर छुट, सीप विकास, उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
महिलाको आर्थिक सशक्तीकरणलाई स्थानीय विकाससँग जोडेर हेरिएको छ । घरायसी जिम्मेवारीमा सीमित मानिने महिलाहरू अहिले व्यवसाय सञ्चालन, उत्पादन र बजार व्यवस्थापनमा सक्रिय देखिन थालेका छन् । महिलाले सञ्चालन गरेका साना उद्योगहरूले परिवारको आय वृद्धि गर्नुका साथै सामाजिक परिवर्तनमा समेत योगदान पुर्‍याइरहेको उपप्रमुख मञ्जु देवकोटाले बताइन् ।
स्थानीय तहले महिला उद्यमीलाई प्रोत्साहन गर्दा आत्मनिर्भरता बढ्ने, रोजगारी सिर्जना हुने र स्थानीय उत्पादनको दायरा विस्तार हुने विश्वास गरिएको छ । यसका लागि नगरपालिकाले विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कमलामाई नगरपालिकाको औद्योगिक विकासको सबैभन्दा उल्लेखनीय उदाहरण वडा नम्बर ५ मा सञ्चालनमा आएको कस्मेटिक्स उद्योग हो । सिन्धुली जिल्लाकै ठूलो उद्योगमध्ये मानिएको यस उद्योगमा १० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ। स्थानीय स्तरबाट सुरु गरिएको यो उद्योगले उत्पादन क्षेत्रको सम्भावनालाई नयाँ उचाइ दिएको छ ।
श्रृंगारका विभिन्न सामग्री उत्पादन गरिरहेको उक्त उद्योगका उत्पादनहरू देशका विभिन्न जिल्लामा बिक्री–वितरण भइरहेका छन् । ग्रामीण जिल्लामा स्थापना भएको उद्योगका उत्पादन राष्ट्रिय बजारमा पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।
उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ । स्थानीय युवायुवतीले आफ्नै जिल्लामा काम गर्ने अवसर पाएका छन् भने कच्चा पदार्थ, ढुवानी, प्याकेजिङ तथा वितरणजस्ता क्षेत्रमा समेत आर्थिक गतिविधि बढेको छ । यसले स्थानीय अर्थतन्त्रमा बहुआयामिक प्रभाव पारेको देखिन्छ ।
उद्योगीहरूका अनुसार स्थानीय तहको सहयोग, सडक पहुँचको सुधार र बजारसँगको सम्पर्क विस्तारले उद्योग सञ्चालन सहज बनाएको छ। उत्पादनको गुणस्तर कायम राख्दै प्रतिस्पर्धी बजारमा टिक्न सकिए स्थानीय उद्योगको भविष्य अझ उज्ज्वल बन्न सक्ने उनीहरूको विश्वास छ ।
सिन्धुली प्रायः कृषि उत्पादन, प्राकृतिक सौन्दर्य र भौगोलिक पहिचानका कारण चिनिने जिल्ला हो । तर पछिल्लो समय औद्योगिक गतिविधिको विस्तारले जिल्लाको परिचयलाई थप फराकिलो बनाउँदै लगेको छ । स्थानीय स्रोत, सीप र लगानीको उपयोग गरेर उद्योग स्थापना गर्न सकिन्छ भन्ने उदाहरण कमलामाई नगरपालिकाले प्रस्तुत गरेको छ ।
यद्यपि औद्योगिक विकासलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी छ । लगानीमैत्री वातावरण, सहज ऋण पहुँच, प्राविधिक सहयोग, गुणस्तरीय विद्युत आपूर्ति र बजार विस्तारका कार्यक्रम आवश्यक देखिन्छन् । साथै व्यवसाय दर्ता मात्र होइन, व्यवसायलाई दीर्घकालीन रूपमा सफल बनाउन आवश्यक परामर्श र सहयोग प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
कमलामाई नगरपालिकामा उद्योग तथा व्यवसायको बढ्दो संख्या केवल तथ्यांकको विषय मात्र होइन, यो स्थानीय अर्थतन्त्रमा भइरहेको परिवर्तनको संकेत हो । साना उद्यमदेखि करोडौं लगानीका उद्योगसम्मको विस्तारले सिन्धुलीमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार तयार गरिरहेको छ । महिलाको बढ्दो सहभागिता, स्थानीय उत्पादनको विस्तार र रोजगारी सिर्जनाले यो अभियानलाई अझ अर्थपूर्ण बनाएको नगरपालिकाको उद्योग शाखाले बताएको छ । स्थानीय लघु उद्योगको सफलताले केवल उद्योगीको मात्र होइन, सिंगो सिन्धुलीको पहिचान र समृद्धिको ढोका खोल्ने तर्फ अगाडि बढ्न सक्ने उपप्रमुख देवकोटाको भनाई छ । (पवन राउत, साभारः कमलामाई लेखमाला)