जेष्ठ नागरिकलाई कमलामाईले दियो बाँच्ने हौसला

प्रेम दाहाल:
सिन्धुलीको कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता केवल आर्थिक सहयोगको कार्यक्रम मात्र बनेको छैन, यो हजारौं जेष्ठ नागरिकका लागि सम्मानपूर्वक बाँच्ने आधार, आत्मविश्वास र जीवनप्रतिको आशाको स्रोतसमेत बनेको छ । नगरपालिकाले एक आर्थिक वर्षमा करिब ३३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल ४ हजार १९५ जना लाभग्राहीले यो सुविधा प्राप्त गरिरहेका छन् । यो तथ्यांकले राज्यले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लक्षित वर्गप्रति गरेको सामाजिक उत्तरदायित्वलाई झल्काउँछ ।
यो तथ्यांकले जिल्लामै सबैभन्दा धेरै उमेरका जेष्ठ नागरिक यसै नगर क्षेत्रमा रहेको देखाउँछ । नगरपालिकामा १ सय वर्षभन्दा माथिका २० जना नागरिक जीवित छन् । तीमध्ये १७ जना महिला र ३ जना पुरुष रहेका छन् । यो तथ्यले महिलाको औसत आयु पुरुषको तुलनामा बढी रहेको संकेत गर्छ । त्यस्तै, ९० वर्षभन्दा माथिका २ सय ९० जना जेष्ठ नागरिक रहेका छन् ।
नगरपालिकाको सामाजिक सुरक्षा शाखाका अनुसार लाभग्राहीहरूको विवरणलाई थप विश्लेषण गर्दा सबैभन्दा बढी आयु क्षेत्री समुदायका नागरिकको रहेको देखिन्छ । त्यसपछि जनजाति र ब्राह्मण समुदायका नागरिकको संख्या उल्लेखनीय छ । तथ्यांकले दलित समुदायका नागरिकको औसत आयु तुलनात्मक रूपमा अन्य जातीको भन्दा कम रहेको संकेत गरेको छ । यसले स्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक अवसरमा विद्यमान असमानताबारे थप अध्ययन र बहस आवश्यक रहेको देखाउँछ ।
सामाजिक सुरक्षा भत्ताको प्रभाव केवल तथ्यांकमा सीमित छैन । यसको वास्तविक प्रभाव जेष्ठ नागरिकहरूको जीवनमा देख्न सकिन्छ । १ सय १६ वर्षीया नरकुमारी खत्री भन्नुहुन्छ, “नगरपालिकाले उपलब्ध गराएको रकमले मेरो जीवन धानेको छ । वृद्धावस्थामा आफ्नै आम्दानीको स्रोत हुँदैन । सरकारले दिएको भत्ताले औषधि, खाना र आवश्यक खर्च चलाउन सजिलो भएको छ ।”
त्यस्तै, १ सय १५ वर्षीया सुनमायाँ लोका लागि सामाजिक सुरक्षा भत्ता जीवनको भरपर्दो सहारा बनेको छ । उहाँ भन्नुहुन्छ, “यो रकमले दैनिक खर्चमा ठूलो सहयोग पुगेको छ । राज्यले हामीलाई सम्झिएको अनुभूति हुन्छ, वृद्धावस्थामा यही नै सबैभन्दा ठूलो सारथी हो ।”
जमुना आले (११०) को अनुभव अझ भावुक छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ्, “सरकारले दिएको रकमकै कारण छोरा–बुहारीले पनि राम्रोसँग हेरचाह गर्छन् । आफ्नै नाममा पैसा आउने भएपछि परिवारभित्र सम्मान बढेको छ ।” उहाँको भनाइले सामाजिक सुरक्षा भत्ताले आर्थिक सहयोगसँगै जेष्ठ नागरिकको पारिवारिक र सामाजिक सम्मानमा समेत सकारात्मक प्रभाव पारेको स्पष्ट पार्छ ।
नेपालजस्तो संयुक्त परिवारको परम्परा कमजोर बन्दै गएको समाजमा जेष्ठ नागरिकको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ । वैदेशिक रोजगारी, सहरीकरण र परिवारको संरचनामा आएको परिवर्तनका कारण धेरै वृद्धवृद्धा एक्लोपन र आर्थिक समस्यासँग जुधिरहेका छन् । यस्तो अवस्थामा सामाजिक सुरक्षा भत्ता उनीहरूका लागि राज्यबाट प्राप्त हुने नियमित सहयोग बनेको छ । यसले जेष्ठ नागरिकलाई अरूमाथि पूर्ण रूपमा निर्भर हुनुपर्ने अवस्थाबाट केही हदसम्म मुक्त गरेको सामाजिक शाखा प्रमुख तुलसी कोइरालाले भन्नुभयो ।
कमलामाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको वितरणलाई थप व्यवस्थित बनाउन लाभग्राहीहरूको अभिलेख अद्यावधिक गर्ने कामलाई प्राथमिकता दिएको छ । यस क्रममा दोहोरो सुविधा लिने करिब ६ सय जनाको नाम सूचीबाट हटाइएको छ । सामाजिक सुरक्षा शाखाकी एलिशा खत्रीका अनुसार यो प्रक्रिया सहज थिएन, “नाम कटौती गर्दा निकै ठूलो दबाब र तनाव सामना झेल्नु परेको थियो तर वास्तविक लाभग्राहीसम्म सेवा पुर्‍याउन यो आवश्यक थियो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको तेस्रो किस्ताको रकम निकासा भइसकेको छ भने चौथो तथा अन्तिम किस्ताको रकम यही महिनाको मध्यतिर लाभग्राहीहरूको बैंक खातामा जम्मा गरिनेछ । बैंकिङ प्रणालीमार्फत रकम वितरण गर्दा पारदर्शिता बढेको र अनियमितता घटेको नगरपालिकाको दाबी छ ।
सामाजिक सुरक्षा भत्ताको महत्व केवल रकमको आकारमा मापन गर्न सकिँदैन । वृद्धावस्थामा राज्यले आफूलाई सम्झिरहेको छ भन्ने अनुभूतिले जेष्ठ नागरिकमा आत्मबल बढाउने काम गरेको छ, कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले भन्नुभयो ।
धेरै जेष्ठ नागरिकका अनुसार भत्ता प्राप्त भएपछि उहाँहरूमा भविष्यप्रति सकारात्मक सोच विकसित भएको छ । नियमित रूपमा रकम प्राप्त हुने विश्वासले उहाँहरूलाई स्वास्थ्य उपचार, पोषण र अन्य आवश्यकताप्रति सजग बनाएको देवकोटाको बुझाई छ ।
कमलामाई नगरपालिकाको अनुभवले सामाजिक सुरक्षा कार्यक्रमले आर्थिक राहत मात्र नभई सामाजिक न्याय, सम्मान र आत्मविश्वास प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको देखाउँछ । विशेषगरी सय वर्ष नाघेका जेष्ठ नागरिकका अनुभवले यो कार्यक्रमको मानवीय पक्षलाई अझ स्पष्ट बनाएको छ ।
राज्यको उपस्थिति नागरिकले सबैभन्दा बढी अनुभूति गर्ने समय भनेको जीवनको कठिन चरणमा हो । वृद्धावस्था त्यस्तै संवेदनशील अवस्था हो, जहाँ सामाजिक सुरक्षा भत्ता धेरैका लागि आशा, भरोसा र सम्मानको आधार बनेको छ । कमलामाई नगरपालिकाका जेष्ठ नागरिकहरूको अनुभवले सामाजिक सुरक्षा कार्यक्रमले उनीहरूलाई केवल केही रकम दिएको छैन, बरु थप बाँच्ने हौसला, आत्मसम्मान र जीवनप्रतिको विश्वाससमेत प्रदान गरेको पाइएको छ । (साभारः कमलामाई लेखमाला)