१० औँ प्रयासमा लियोनल मेस्सीले राष्ट्रिय जर्सीमा प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्।
कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन्।
अर्जेन्टिनाले नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा साबिक विजेता टोली ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरेर कोपा अमेरिका फुटबलको उपाधि जितेको हो।
२२ औँ मिनेटमा डी पलको सहयोगमा एन्जल डी मारियाले गरेको गोल २८ वर्ष अर्थात सन् १९९३ पछि अर्जेन्टिनालाई क्षेत्रीय विजेता बनाउन पर्याप्त भयो।
सन् २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टिममा रहेका मेस्सीले ३४ वर्ष हुँदा अर्थात सक्रिय खेल जीवनको उत्तरार्धमा आएर आफ्नो जीवनको शीर्ष सफलता हात पारेका हुन्। तर यो जितमा उनले आफै गोल भने गर्न सकेनन् वा पाएका केही मौकामा सफल रहन सकेनन्।










