एमाले कार्यदल बैठक जारी, यस्तो छ सहमतिको अन्तिम गृहकार्य

एमाले केन्द्रीय कार्यालय, माइतीघर । फोटोः प्रदेशखबर डटकम

 नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघिबाट सिंहदरवारमा जारी बैठकले एकताको अन्तिम टुंगो लगाउने गृहकार्य भइरहेको नेताहरुले जानकारी दिनुभएको छ । आजको बैठकपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्ने छ । कार्यदलका सदस्यहरुले पार्टी बिवाद समाधान भएको भन्दै चार महिना अघि देखि पार्टीमा देखिएको विवाद आजै समाप्त हुने जनाएका छन ।

कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा कार्यदलले सहमतिको दस्तावेजमाथि छलफल भइरहेको छ । ‘कार्यदलले अन्तिम गृहकार्य गरिरहेको छ, हामी बसिरहेका छौं, यो दस्तावेजलाई ११ बजे बस्ने पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्नेछ’ नेम्वाङले भन्नुभयो, ‘ त्यो बैठकमा सबै स्थायी समितिका सदस्यको सहभागिता हुनेछ ।’

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले कार्यदलको बैठकपछि एमाले स्थायी कमिटीको बैठक बस्ने तयारी भइरहेको बताउनु भयो । कार्यदलको बैठकपछि १० देखि ११ बजेभित्र स्थायी कमिटी बैठक बस्ने कुरा छ, तामाङले जनताटाइम्ससँग भन्नुभयो । कार्यदलमा विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राख्नुभएको थियो । यो सर्तलाई नेपाल पक्षले नमानेपछि सहमति र एकता प्रयासमा अड्चन आएको थियो। देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित अदालतमा दायर मुद्दालाई लिएर वार्तामा अड्चन आएपछि फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने सहमति एमाले कार्यदलमा भएको हो। नेपाल पक्षको अडानपछि संस्थापन पक्ष फैसला नआउँदासम्म मौन बस्न सहमत भएको हो।

कार्यदलले अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने र पार्टी विवाद समाधानका लागि सहमति भएको दाबी गरेको छ। ‘अदालतमा परेको रिट निवेदनको सबालमा के गर्ने, के नगर्ने भन्ने अन्योल र समस्या थियो। अब करिबकरिब त्यो विषय सकिएको छ’, कार्यदलका एक सदस्यले भने।