आठौं खेलकुद सप्ताह सकियो

प्याब्सन सिन्धुलीको आयोजनामा सञ्चालन भइरहेको ८ औं खेलकुद सप्ताह हिजो मंगलवार सम्पन्न भएको छ । फागुन १३ गतेदेखि शुरु भएको खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ एथलेटिक्सका विभिन्न इभेन्टका साथै छात्रछात्राको भलिवल पनि प्रतिस्पर्धामा राखिएको प्याव्सनका केन्द्रीय सदस्य ओम प्रधानले बताए । जिल्लाको प्याव्सन सिन्धुलीमा आवद्ध निजि विद्यालयहरु सहभागी रहेको प्रतियोगितामा जुनियर तर्फ एथलेटिक्समा सिन्धुली एकेडेमि मिलनचोक प्रथम भएको थियो । त्यसैगरी कमलाखोज शिक्षा सदन दितीय र साइनिङमुन एकेडेमि तृतीय भएको थियो ।
यता सिनियर तर्फको एथेलेटिक्समा जनता मावि रातमाटा प्रथम भएको थियो । दितीय स्थान सिन्धु शुभप्रभात धुरावजारले प्राप्त गरेको थियो भने तृतीय स्थान कमला एकेडेमी भिमानले प्राप्त गरेको थियो ।
भलिवल प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ स्वीस सिन्धुली ठुलीटारले प्रथम स्थान ओगट्न सफल भएको थियो भने न्यू सिद्धस्थली स्कुल रातमाटाले दितीय स्थान प्राप्त गरेको थियो । छात्रा तर्फको तृतीय स्थान आधुनिक वोर्डिङ्ग स्कुल पानिट्यांकी र छात्र तर्फ सिद्धस्थली ई. वोर्डिङ्ग स्कुलले प्राप्त गरेको थियो ।
विजयी स्कुल तथा खेलाडीहरुलाई मंगलवार हिजो समापन समारोहमा प्रमुख अतिथि प्याव्सन नेपालका केन्द्रिय अध्यक्ष डिके ढुंगानाले पुरस्कार वितरण गरेका थिए ।

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।