नेपालले एसीयाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी शुरवात गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय टी २० क्रिकेट खेलेको मंगोलियाविरुद्ध नेपालले कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । यो टी २० मा फराकिलो जित पनि रहेको छ । नेपालका कुशल मल्लले यो खेलमा सर्वाधिक छिटो शतक (३४ बल) बनाउने कीर्तिमान बनाउँदा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो ९ बलमा अर्धशतक पूरा गरे ।
यसैगरी टी २० अन्तर्राष्ट्रियमा ३ सय बढी रन बनाउने नेपाल पहिलो टिम बनेको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले १३७ रनको नटआउट पारि खेले ।
रोहित पौडेलले २७ बलमा ६१ रनको पारि खेल्दा ६ छक्का र २ चौका प्रहार गरे । यसैगरी रोहितपछि आएका दीपन्द्रसिंह ऐरीले १० बल खेल्दा ८ छक्का प्रहार गरे । उनले एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । ऐरी ५२ रनमा नटआउट रहँदै अर्धशतकीय पारि खेल्दा कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रनमा नटआउट रहे ।
नेपालविरुद्ध मंगोलियाका बलर निकै फिका सावित भए । इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक एक विकेट लिए । ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा सेमिटन पुग्यो ।
नेपालका करण केसी, अभिनास बोहोरा र सन्दीप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।