युरोकपमा इटालीको विजयी सुरुवात, टर्कीमाथि शानदार जित

युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी पछि ५३ औँ मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गरि इटालीलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा चिरो इमोबिले तथा ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरि इटालीलाई जित दिलाएका हुन् ।

इटाली सन् २०१८ को सेप्टेम्बर यता लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।

आउँदो बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्।