चिकित्सा सेवा आयोगको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोहीअनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातौं बैठकलाई आज सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिसाब हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरुमा समेत हामीलाई कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रुपमा गरिनु पर्ने धारणा पनि राख्नुभयो । आवश्यकता आँकलन नगरी जनशक्ति उत्पादन गर्दा कही नपुग्ने त कही उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्थासम्म आउने प्रधानमन्त्रीको ओलीको भनाई थियो । ‘आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा पढेको मानिस बरोजगार हुनुपर्ने अवस्था सृजना भएको छ, जबकी ऊ आँफै रोजगारदाता हुनु पर्ने हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अस्पतालहरुमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कतिपय अस्पतालमा आवश्यकताअनुसारको दरबन्दी सृजना नभएको तथ्यसमेत राख्नुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरुतर्फ औंल्याउँदै प्रधानमन्त्री ओलीले यसका कार्यक्रम आवश्यक हुन भने चलाउन र छैनन भने तत्काल बन्द गरिनुपर्ने बिचारसमेत राख्नुभयो । ‘गाउँमा अहिले महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन । त्यसैले ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सके मात्र पनि ठूलै उपलब्धी हुन्छ ’, प्रधानमन्त्रीको भनाई थियो ।