दबाब र प्रभावमा खोप लगाउने बढेपछि सिन्धुलीमा फ्रण्टलाइनरलेनैं पाएनन्

फ्रन्टलाइनर २१ जना प्रहरीहरुले कोरोना विरुद्धको पहिलो डोज (कोभिशिल्ड) खोप लगाए पनि उनीहरुको दोस्रो डोज कहिलो आउँछ भन्ने कुनै अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अन्य सबै सहकर्मीहरुले कोरोनाको दोस्रो डोज पुरा गरिसक्दा उनीहरुको अबस्था भने अन्योल भएको हो । किनकी जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीमा भारतले अनुदानमा पठाएको भनिएको कोभिशिल्ड खोप सकिएपछि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन वाँकी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुको संख्या ९ हजार ८५ रहेको थाहा लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विभिन्न कारणले खोप लगाउन नपाएका प्रहरीको संख्या ९ जना रहेकाछन् । कोही घर बिदामा छन् भने कोही विरामी भएका कारणले खोप लगाउन छुटेकाछन् । तर कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन भने २१ जना प्रहरी मात्रै रहेको जिप्रकाले जनाएको छ ।
त्यसैगरी फ्रन्टलाईनमा रहेर जनसेवामा खटिने नेपाली सेनाका ५ सयले कोरोना विरुद्धको खोप लगाउन वाँकी रहेको छ । नेपाली सेनाको वर्दवहादुर गणका गणपति विजय थापाका अनुसार नेपाली सेनालाई फ्रण्टलाइनर भनिएपनि वाँकी रहेकाहरुलाई कहिलेसम्म खोप लगाई सकिने भन्ने विषयमा केही खुलेको छैन । अहिलेसम्म ३ सय ५० जनाले कोभिशिल्डको दुबै डोज लगाएपनि ३ सय ५० जनाले दोस्रो डोज लगाउन बाँकीनैं छ । उनीहरुले पहिलो डोज कोभिशिल्ड लगाएकाले दोस्रो डोज पनि सोही भ्याक्सिन अनिवार्य बनेको छ, तर उक्त भ्याक्सिन कहिले आउने हो त्यसको अत्तोपत्तो छैन, थापाले अगाडि भन्नुभयो ।
एनजिओका फ्रन्टलाइनरहरु !

No description available.

सिन्धुली जिल्ला प्रशासन कार्यालयमा दर्ताभई स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड १९ को महामारी बढेसँगै फ्रन्टलाइनर भनेर उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सब व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी, एम्बुलेन्स चालक र समाचार संकलनका लागि फिल्डमा निस्कने सञ्चारकर्मीलाई मानेको छ ।
विश्वभरका मुलुकले फ्रन्टलाइनरको परिभाषा पनि त्यसैलाई आधार मानेर गरेको छ, जुन नेपालको स्वास्थ्य मन्त्रालयले कोभिड १९ को पहिलो संक्रमणकै क्रममा सो निर्देशिका जारी गरेको थियो । तर सिन्धुली स्थित जिल्ला जनस्वास्थ्य कार्यालयले दबाबमा परेर स्वास्थ्य सामाग्री सहयोग गरेकै भरमा गैर सरकारी संस्थाका सञ्चालक र कामदारहरुलाई कोभिशिल्डको दुबै डोज खोप लगाईदिएको छ । सिड्स सिन्धुलीका अध्यक्ष एवम् एनजिओकर्मी दिपक घिमिरेले आफुले कोरोना विरुद्धको खोपको दुवै डोज लगाईसकेको बताए ।
प्रदेशखवरसँग संक्षिप्तकुराकानीगर्दै अध्यक्ष घिमिरेले आफुहरु कोरोना संक्रमणको पहिलो लहरबाटै सिन्धुलीमा फ्रण्टलाइनर भएर काम गरेको र अहिले पनि रोकथाम र नियन्त्रणका लागि त्यसैगरी काम गरिरहेको बताए । उनले अगाडि भनेः मेरो संस्थाका कार्यरत ७–८ जना कर्मचारीले दुबै डोज खोप लगाईसकेकाछन् । एनजिओमा काम गर्नेलाई त फ्रण्टलाइनर मानिदैंन त भन्ने प्रश्नमा उनले त्यसलाई अस्वीकारगर्दै आफुहरु सिन्धुलीको फ्रण्टलाइनर भएको ठोकुवासमेत गरे ।
उनी मात्रै होइन स्वास्थ्य सामाग्री सहयोग गरेर चर्चामा आउन रुचाउने रिलिफ सिन्धुलीमा कार्यरत सम्पूर्ण कर्मचारीले कोभिशिल्डको दुबै डोज लगाईसकेका छन् । सिन्धुली जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर दिएर आफुलाई एनजिओका फ्रण्टलाइनर सावित गराउने अध्यक्ष दुर्गा पौडेलकै सक्रियतामा ८ जना कर्मचारीले दुबै डोज खोप लगाइसकेका हुन् ।
शव व्यवस्थानमा खटिएको नेपाली सेना, सुरक्षामा खटिएको प्रहरी र हेल्थ पोष्टमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलाई कोरोना विरुद्धको खोपमा पहिलो प्राथमिकता दिनुपर्नेमा स्थानीय प्रशासनको दबाबमा एनजिओकर्मीलाई कोभिशिल्ड खोपको दुबै डोज लगाएको बिबरण देखिएपछि नागरिकको जीवन रक्षामा खटिएकाहरु चकित भएकाछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारी दबाबमा परेर आफुहरुले एनजिओको बैठकको निर्णका आधारमा खोप उपलव्ध गराउन बाध्य भएको स्वीकार गर्छन् । यदी सरकारले तोकेको मापदण्डलाई निर्वाध रुपमा पालना गर्न पाइएको भए कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी हुनेको संख्या ९ हजार ८५ हुने थिएन । नियमित सुची अनुसार खोप लगाएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुलाई दोस्रो डोज खोप लगाउन नसकेकोमा आफु दुःखी भएको जनस्वास्थ्य प्रमुख जितेन्द्र साहको भनाई थियो ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भ्याक्सिन वितरणमा सिन्धुलीमा समस्या आएको कुरा हामीकहाँ रिपोर्ट आएको छ । फ्रन्टलाइनरहरुनैं खोप लगाउनबाट छुटेका र दबाब र प्रभावमा पारेर खोप लगाउने समूहकै कारण पनि पहलो पक्तिमा बसेर काम गर्नेहरु सबैभन्दा बढी जोखिममा परेको बताउनुभयो ।