अर्थ मन्त्रालयले कोरोना बिमाको रकम सात दिनभित्र दिनु भन्ने यसअघिको आफ्नो निर्देशन कार्यान्वयन नभएपछि फेरि तोकेता गरेको छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सात दिने निर्णय कार्यान्वयन नभएको भन्दै अब तीन दिनमै भुक्तानी दिन कडा निर्देशन दिएको छ। बिमा समितिलाई निवेदन परेको तीन दिनभित्र भुक्तानी दिने व्यवस्था मिलाइ त्यसको जानकारी दैनिक रुपमा गराउन अर्थ मन्त्रालयले निर्देशन दिएको हो।
कोरोना बिमाको रकम भुक्तानी दिन बिमा कम्पनीहरुले आनाकानी गरेको गुनसो बढेपछि अर्थले त्यसलाई सम्बोधन गर्न निर्देशन दिएको थियो।
मन्त्रालयले बिमा रकम भुक्तानी दिन कुन बिमा कम्पनीले कति बाँकी छ? देखिका समस्या र समाधानका लागि भए प्रयासबारे जानकारी गराउन पनि निर्देश गरेको छ।
अर्थको पत्रमा भनिएको छ, ‘कोरोना बीमा दाबी भूक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छ? हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको बिवरण पेण्डिङ्ग रहेको छ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के के हुन? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन।’
त्यस्तै मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पुरा भएको दाबी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नकली दावीको विवरण, दाबी भूक्तानिको विवरण र सबै कागजात पूरा भई भुत्तानी गर्न बाँकीको विवरण पनि दिन भनेको छ।











