विदेश पलायनको पीडा : आफ्‌नै घर छोड्दैछन् युवा

?????????????????????????????????????????????????????????

अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा पलिरहेको छ—युवाहरु आफ्नै माटो छोडेर परदेशिन बाध्य छन्। किन ?
हामीलाई भनिन्छ–“देश बनाउ, देशमै खाउ।” तर सिपमूलक शिक्षा बिना देश बनाउने सपना केबल हावामा तैरिएको महल जस्तै हो। हामी अझै पनि किताबी ज्ञानमै अल्झिएका छौँ। प्रयोगात्मक ज्ञान, सीप र दक्षता हाम्रो पाठ्यक्रममा कहाँ छ र ?
यहाँ श्रम गर्ने मानिसको इज्जत छैन। गफ गरेर कुर्सी तान्नेको मान छ। खेत जोत्ने, इट्टा बोक्ने, पसिना बगाउने हातहरूको सम्मान छैन। श्रमलाई हेर्ने हाम्रो दृष्टिकोणले नै युवालाई बिदेसिनु बाहेक विकल्प दिँदैन ।
सरकारी सेवा-नाम ठूलो तर काम? कार्यालय पुग्दा लाज लाग्छ, कर्मचारीको रुखो व्यवहार, झन्झटिलो प्रक्रिया, घण्टौं लाइन, कोठा–कोठा धाउनु। एउटै कामका लागि एकद्वार प्रणाली लागू भन्नेको स्वर मात्रै, व्यवहारमा ‘ज्यू काज्यू’को दौडधुप !
त्यसमाथि माथि बसेकाहरु भ्रष्ट छन् । नीतिनिर्माताहरु आफ्नै पेटमा देश कोचिरहेका छन्। साना कुरा मिलाउन पनि घूस दिनै पर्ने बाध्यता छ । के यही सुशासन हो ?
आफ्नो गाउँघरमा बसेर केही गरौँ भने समाज आफैं घृणा गर्छ– उ विदेश गएन, केही कमाउन सक्दैन।” परिवारले पनि दबाब दिन्छ-अरुले युरोप, खाडी, अमेरिका गयो, तँ के गर्दैछस् ? यस्तो मानसिक पीडा सहेर युवाले के गर्ने ?
हाम्रो प्रशासन, कर्मचारीतन्त्र, व्यवस्थापन, कसैले युवाको पिढा सुन्दैन। कुनै निकाय छैन, जसले सही बाटो देखाइदियोस्। भ्रष्टाचार रोक्न सक्दैन, दक्ष मानव संसाधन उत्पादन गर्न सक्दैन, इमान्दार श्रमको सम्मान गर्न सक्दैन ।
अनि के बिर्सौँ–छिटो पैसाको मोहले पनि धेरैलाई गलत बाटोमा हिँडाएको छ । विदेश गएर केही वर्षमा गाडी–घर भन्ने लोभ कसलाई हुँदैन? यही लोभले गाउँ रित्तिँदैछन्, खेत बाँझिँदैछन्, परिवार छिन्नभिन्न हुँदैछन् ।
देशले युवालाई थाम्न सकेन भने गाउँका परालका छानोहरु रित्तिने छन्, बुढाबुढीहरुको आँखामा पर्खाइको आँसु झर्दै जानेछ। अनि हामी सुनौलो नेपाल बनाउने कुरा केवल भाषणमै सिमित हुनेछ ।
समाधान छ भने–सिपमूलक शिक्षा, श्रमप्रतिको सम्मान, इमानदार प्रशासक र भ्रष्टाचारमुक्त व्यवस्था चाहिन्छ। युवालाई यही माटोमा पसिना बगाएर बाँच्न सक्ने अवसर चाहिन्छ ।
नत्र यो पलायन अझ बढ्नेछ। गाउँ रित्तिनेछ । अनि हाम्रो नेपाल कागजमा मात्रै बाँकी रहनेछ ।