सन्दर्भ राष्ट्रिय कोदो दिवशः कोदोको परिकार प्रयोगमा ल्याउन सरोकारवालको आग्रह

सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिति रहेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले हाम्रो पुर्खौली थलोदेखि कोदो खाँदै आएको स्मरण गर्दै कोदोको प्रयोगको फाइदाहरु बताउनुभयो । उहाँले कोदो स्वास्थ्यका लागि अचुक औषधि भएको अनुभव सुनाउँदै सुगरका बिरामीहरुका लागि लाभदाएक भएको खुलासा गर्नुभयो । उहाँले सिन्धुलीको कोदो खेती विस्तारका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीले कोदोको उत्पादन र बजारीकरण लाई ध्यान दिदै प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रैथाने परम्परागत कृषि बालीको संरक्षण, स्वस्थ जीवनको, जलवायु, माटोको सम्मान गरेको सन्दर्भमा कोदो दिवस मनाउन लागिएको बताउनु भयो । उहाँले सबैलाई कोदोको परिकार प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोदोबाट उत्पादित परिकार खुवाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कोदो पोषण युक्त वाली भएको र त्यसलाई सम्पूर्ण सिन्धुलीवासी लाई प्रयोग गर्न सुझाउनभयो । उहाँले प्रतिवर्ष नब्बे करोडको कोदो भारत बाट आयात गरिएको उल्लेख गर्नुभयो ।