फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।
मार्सेइलीसँगको खेलको क्रममा भएको विवादपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेकाे हो। तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन गर्ने जनाएको छ ।
गएको आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेइलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण मेस्सीले रातो कार्ड पाएका थिए। नेइमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन्। अल्भारोले नेइमारले लगाएको आरोप अस्वीकार गरेका छन् ।

नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ । पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ ।
यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन् । मार्सेइलीका जोर्डन एमावीले तीन खेलको निलम्बन पाएका छन् भने डारिओ बेनेडिट्टो एक खेलमा बाहिरै बस्नु पर्ने भएको छ ।










