खेल मैदान बन्यो ‘रणभूमि’, नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) का लागि यो सिजनको सुरुवात अति खराब भएको छ । लिग वानमा लगातार दुई खेलमा पराजित भएर समस्यामा आएको पिएसजीका लागि अर्को समस्या बनेको छ, कोरोना भाइरसको संक्रमण र रेड कार्ड ।

केलियन एमबाप्पेसहितका खेलाडी कोभिड–१९ का कारण आइसोलेशनमा छन् । नेइमारसहितको टिम आइतबार राति भएको लिग वान अन्तर्गतको खेलमा मार्सेइलीसँग १–० ले पराजित भयो ।

३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोल नै मार्सेइलीको जितका लागि पर्याप्त बन्यो । तर यो खेल मार्सेइलीको जित वा पिएसजीको लगातार दोस्रो हारका लागि भन्दा पनि पाँच खेलाडीले इन्जुरी समयमा पाएको रातो कार्डका कारण चर्चामा छ ।

इन्जुरी समयको अन्तिमतिर भएको झगडाका कारण दुई टिमका पाँच खेलाडीले रातो कार्ड पाए । यसरी ९७ औँ मिनेटमा रातो कार्ड पाउनेमा नेइमारसहित पिएसजीका तीन र मार्सेइलीका दुई खेलाडी छन् ।

पिएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेइलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाएका हुन् । रेफ्रीले भिएआरबाट नेइमारको पञ्च हेरेर सीधै रातो कार्ड दिएका हुन् ।

खेलपछि नेइमारले ट्वीट गरेर अल्भारो गोन्जालेजको मुखैमा पञ्च नहिर्काएकोमा पछुतो रहेको उल्लेख गरेका छन् । गोन्जालेजले नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

नेइमार र अल्भारो भन्दा अघि मार्सेइलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।
नेइमारले मैदान छोड्ने क्रममा फोर्थ अफिसियललाई आफूमाथि रंगभेदी टिप्पणी भएको बताएका थिए ।

मार्सेइलीका प्रशिक्षकले रंगभेदी टिप्पणीका कारण घटना भएको जस्तो नलाग्ने तर त्यस्तो खालको टिप्पणीका लागि कुनै स्थान नरहेको बताए । उनले त्यसबारे अनुसन्धान गरिने बताए ।