पत्रपत्रिकाः पाँच हजार सुरक्षाकर्मी कोरोना संक्रमित, सबैभन्दा बढी नेपाल प्रहरी

मुलुकभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो छ। 

नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरणअनुसार आइतबारसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड-१९ देखिसकेको छ। 

संक्रमितमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन्। निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतको भनाइ छ।

गत माघ ९ गते चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड-१९ देखिएपछि त्यसको रोकथामका लागि सरकारले आवश्यक योजना बनाउन थाल्दा नेपाली सुरक्षाकर्मीले सम्भावित जोखिम आङ्कलन गरेर आन्तरिक तयारी थालेका थिए।

मुलुकमा अकस्मात आइपर्ने महामारी, राष्ट्रिय विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम-नागरिकलाई सुरक्षाको पूर्ण-प्रत्याभूति दिलाउने जिम्मेवारी सुरक्षा निकायको काँधमा छ। 

आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड-१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपत्विपद् र शान्तिसुरक्षामा खटिएकै बेलामा  सङ्क्रमण भएका छन्। 

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर ७७  जिल्लामा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीमा पछिल्लो समयमा नियमित सङ्क्रमण देखिन थालेको छ। पछिल्लो एक साताको विवरणले सुरक्षा निकायमा सङ्क्रमणको क्रम बढ्दो देखाउँछ। एक सातामै एक हजार ५०० बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन्। मुलुकभर सङ्क्रमण दरमा बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा प्रस्ट देखिन्छ। 

गत वैशाखबाट सुरक्षा निकायमा सङ्क्रमण देखिएको थियो। जेठको पहिलो सातासम्म १२ सुरक्षाकर्मीमा सङ्क्रमण थियो । नेपाल प्रहरीतर्फ जेठ ३ गते एक प्रहरी जवान पहिलो सङ्क्रमित भएका थिए। 

सुरक्षा निकायमा देखिएको सङ्क्रमणमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा छ। त्यसपछि नेपाली सेनामा बढी देखिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कडायतले अधिकांश लक्षणविहीन रहेको र धेरै निको भएर घर फर्किसकेको बताए। 

आजको अन्नपूर्णले समाचार प्रकाशन गरेको छ ।