लियोनल मेस्सी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।
मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् ।
३३ वर्षका मेस्सीले गएको मंगलबार बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए । त्यसयता विश्वका ठूला र धनी फुटबल क्लबबिच मेस्सीलाई भित्र्याउने होडबाजी चलेको छ ।
मेस्सीले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई टेलिफोन गरेका थिए, बार्सिलोनालाई पत्र बुझाउनु भन्दा पहिले नै ।
उनले टेलिफोनमा पेप गार्डिवलालाई भनेका थिए, ‘म अझै दुईपटक बालोन डी’ओर जित्न चाहन्छु र त्यो केवल तपाईँको प्रशिक्षणमा खेलेर मात्रै सम्भव छ ।’ यो दाबीसहितको खबर स्पेनिस पत्रिका मार्काले प्रकाशित गरेको छ ।
यसैबिच बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले मेस्सीसँग भेट गर्न अस्वीकार गरेको खबर छ । क्लब छोड्ने विकल्पहरुबारे छलफल गर्न मेस्सीले भेट्न चाहे पनि अध्यक्ष जोसेपले समय दिएका छैनन् ।