सातवटा गोली लागेका ज्याकोब ब्लेकलाई अस्पतालको बेडसम्मै हतकडी

प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका अमेरिकाको विस्कनसिनका युवा ज्याकोब ब्लेकलाई प्रहरीले हतकडी लगाएर अस्पताल लगेको खुलेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ढाडमा सातवटा गोली लागेर अचेत अवस्थामा पुगेका ब्लेकलाई प्रहरीले लगाएको हतकडी अस्पतालको बेड पुगेपछि मात्रै फुकालिएको हो।

केनोशा प्रहरीले अघिल्लो वारेन्टका लागि ब्लेक कस्टडीमा रहेको र नीतिको अनुशरण गरेर हतकडी लगाएको बताएको छ।

ब्लेकका वकिलले अमेरिकी सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार वारेन्ट खारेज गरेपछि मात्रै अस्पतालमा ब्लेक ‘भाग्छन्’ कि भनेर बसेका सुरक्षाकर्मी गएका हुन्।

प्रहरीको सातवटा गोली ढाडमा लागेका ब्लेक प्यारालाइज्ड भएका छन्। उनी पुनः हिँड्न सक्ने छन् वा छैनन् भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

यसैबिच ब्लेकलाई गोली हानीको घटनापछि भएको विरोध प्रदर्शनमा गोली हानी दुईजनाको हत्या गरेको तथा एकजनालाई घाइते बनाएको अभियोगमा पक्राउ परेका किशोर सम्बन्धी सुनुवाई एक महिनाका लागि पछि सरेको छ।

१७ वर्षका कायल रिटेनहाउस नाम गरेका किशोर इलिनोइको लेक काउन्टीस्थित अदालत सुनुवाईका लागि उपस्थित हुने तय भएको थियो।

न्यायाधीशले उनको सुनुवाई सेप्टेम्बर २५ सम्मका लागि रोकेको एसोसियट प्रेसले जनाएको छ। शुक्रबार भएको छोटो भिडियो कन्फ्रेन्समा रिटेनहाउस उपस्थित भएनन्।

हत्यासहितका ६ अभियोग लागेका रिनेटहाउसको पक्षमा प्रतिष्ठित कानूनी फर्मले वकालत गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रुडोल्फ जुलिआनी र ट्रम्पका पूर्व सल्लाहकार कार्टर पेजसहितलाई कानूनी सेवा प्रदान गर्ने फर्मले रिनेटहाउसको पक्षबाट वकालत गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ।

ब्लेकमाथि गोली प्रहार भएपछि केनोशामा लगातार प्रदर्शन हुँदै आएको छ। शहरका मेयरले यो हप्ता शहरमा कर्फ्यू जारी रहने बताएका छन्। सुरक्षाका लागि एक हजार भन्दा बढी नेशनल गार्ड पनि तैनाथ भएका छन्।