ठेकेदार बोगटी प्रकरणले नेकपा सुनकोशीमा किचलो

सुनकोशी गाउँपालिकाले लगाएको गिट्टी,ढुंगा र वालुवा ठेक्का प्रकरणलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै बिचमा किचलो सुरु भएको छ । ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटीले सिंगो गाउपालिका र नेकपालाई बढ्नाम गराउने उदेश्यले कार्यकारी अधिकृत विकास सुन्दासको मिलेमतोमा हेटौडाका नेकपाकै समर्थक गतिशिल निर्माण सेवाको फार्म मार्फत काम गरेपछि अहिले सुनकोशीमा नेकपा बीच किचलो हुन पुगेको स्रोतले बताएको छ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं. ७ स्थायी बासिन्दा रहेका बोगटी र कार्यकारी अधिकृत सुन्दास बीचमा भएको साँठगाँठले अहिले समस्या सिर्जना गरिदिएको सम्बद्ध स्रोतको भनाई छ । समाचार स्रोत अगाडि भन्छः सुन्दासले केही दिन अगाडिदेखी सरुवाको पहल थालिसकेका छन् ।
नेकपा सुनकोशी गाउँकमिटीका कार्यालय सदस्य मानध्वज लामाको अध्यक्षतामा बसेको बैठकले हिजो पार्टी अध्यक्ष अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापाले ठेकेदार बोगटीलाई कारबाहीको मागगर्दै जारी गरेको विज्ञप्तीलाई लेटर प्याडको दुरुपयोग भनेको छ ।
गाउँकमिटी बहुमत सदस्यहरुको उपस्थितिमा भएको भनिएको बैठकपछि जारी विज्ञप्तीमा अध्यक्ष र सचिवले हिजो जारी गरेको विज्ञप्तीलाई व्यवसायिक प्रयोजनका लागि गौरवशाली पार्टीको लेटरप्याड दुरुपयोग गरिएको र आगामी दिनमा पार्टी हित विपरित प्रयोग नगर्न सचेत गराएको छ ।
जारी बिज्ञप्तीमा गाउँपालिकाको पूर्ण बैठकको मागसमेत गरिएको छ । पार्टी अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तीलाई गैरकानूनी भन्दै कार्यालय सदस्यको अध्यक्षमा बसेको भनिएको बैठकलाई बैधानिक भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएपछि नेकपा सुनकोशीको बिवाद छरपस्ट भएको छ ।
पार्टी अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्ती र कार्यालय सदस्यले जारी गरेको दुवै विज्ञप्तीलाई लिएर सुनकोशी नेकपामा तिब्र निराशा पैदा गराएको छ । यो समाचार तयार पर्दासम्म सुनकोशीको समस्यालाई लिएर नेकपाको जिल्ला नेतृत्वले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सञ्चार माध्यममा दुई फरक फरक विज्ञप्तीजारी भएपछि भने कुन आधिकारिक हो भन्ने गंभिर प्रश्न उठेको छ ।
यसैबीच ठेक्का प्रकरणका प्रमुख पात्र मानिएका वोगटीसँग प्रतिक्रिया लिनका लागि ९८४४२५२४५९ र ९८०१२८४००० मा पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

No photo description available.