बेलायती नागरिक लिन आइपुग्यो टाइटान एयरलाइन्स, २६८ बेलायती घर फर्कदै

कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन  बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको छ।

नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान  बोइङ ७६७-३६ एन जहाज नेपाल आएको हो। नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्।

चार्टर उडानका लागि यो जहाज दुवईबाट  काठमाडौं आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार यो जहाजले पुन: काठमाडौं-दुबई हुँदै बेलायत उडान गर्नेछ।  बुधबार दिउँसो १२:०५ मा अवतरण भएको यो जहाज दिउँसो १:१५ मा उडान हुने प्रवक्ता क्षेत्रीले जानकारी दिए।