वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहबाट नेपाल सरकारले पैठारी हुने हरेक किसिमको सामानको जाँचपास गरी ढुवानी गर्न, गराउन सरोकारवाला निकायलाई निर्देशन जारी गरे पनि पर्सा र बाराबाहेक अरू जिल्लामा बन्दरगाहबाट मालसामान जान सकेको छैन ।
मालसामान बोकेर गइरहेको गाडीलाई ठाउँ–ठाउँमा सुरक्षाकर्मीले चेकजाँच गर्ने, चालकलाई कुटपिट गर्ने जस्ता व्यवहार देखाइरहेकाले ड्राइपोर्टबाट मालसामान बोकेर जाने गाडीहरूको संख्यामा कमी आएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।
उनले अति आवश्यक सामानहरूमा दाना बनाउने कच्चा पदार्थ, भटमास, मकै, तोरी, ट्रेडिङ आइटमका सामान र दैनिक उपभोग्यका रेडिमेड सामानहरूलगायत सहजै बाहिरको जिल्ला जाने अवस्था नरहेको जानकारी गराए ।
भारतबाट मालसामान बोकेर आउने कन्टेनरको संख्यामा कमी नआए पनि ड्राइपोर्टबाट कन्टेनर लोड भएर ढुवानी नहुँदा करिब २२ सय कन्टेनर होल्ड भएर बसेको पनि उनले बताए ।
उनले भने, ‘भारतबाट कन्टेनर बोकेको रेलको आगमनमा कुनै कमी आएको छैन, तर बन्दरगाहबाट मालसमान लोडेड कन्टेनर औद्योगिक कोरिडोर र बाहिरी जिल्लामा जान नसकेर यार्ड पुरै भरिभराउ भएको छ ।’