एघार वर्षदेखी बाख्राको खोरमा बालिका !

विश्वभर कोरोना संक्रमणको त्रासले मानव जीवननैं सङ्कटमा परिरहेका बेला सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ चिसापानी झोरा स्थित १४ वर्षीया वालिका संझना तामाङ वर्षौंदेखी बाख्राको खोरमा बाँधिएर बसिरहेको सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । उनी बाख्राको खोरमा पसेको वर्षौ भयो, मुलुकले राजनैतिक काँचुली पनि फे¥यो, गाउँ गाउँमा सिंहदरवार आए, देशको मूल कानूनमा वालअधिकारका लिखतहरु समेटिए, वाल अधिकारका नाममा सिन्धुली आएका दर्जनौं एनजिओ र आइएनजिओका अर्वों रकम सिध्याउनेहरु प्रशस्तै भेटिए तर उनको पिडामा मल्हम लगाउनेहरु अर्थात बाख्राको खोरबाट निकालेर बाहिरी संसार देखाउनेहरु अहिलेसम्म कोही पनि भेटिएनन् ।
संझनाको बाबु अगम तामाङ पेशाले शिकर्मी हुन् । उनी दैनिक रुपमा काम गर्नका लागि विहान सखारै घरबाट निस्कन्छन् । घरमा रहेकी उनकी आमा र उनको एक जना दाई (जो विदेशबाट केही समय अगाडि फर्केर आएका थिए) आफ्नो नियमित काममा निस्कन्छन्, तर ति वालिकालाई उनीहरुले कहिल्यै पनि खोरबाट निकालेका छैनन्, अर्थात उनलाई ‘जथाभावी हिंड्छे’ भन्ने नाममा कहिले साङ्लो त कहिले सलले खुट्टामा बाँधेर राख्दै आएका छन् ।
संझनासँगैका रातभर बसेका बाख्रा र पाठा पाठीहरु बिहानै खोरबाट निस्कन्छन् । उनीहरुलाई जंगलको छेउ भएकाले चराउन छोडिंदै आएको छ । तर उनलाई भने छोडिंदैन । वालिकाका दाई निमा भन्छन्, ‘उसलाई खुला छोड्न त सकिन्थ्यो, तर जतापायो त्यतै हिंड्ने भएकाले पनि बाँधेर राखेका हौं ।’ आफ्नै बहिनीलाई त्यसरी बाख्राको खोरमा राख्न मिल्छ त, अलिकती पनि मायाँ लागेन ? भन्ने जिज्ञासामा उनले कुनै प्रतिक्रिया जनाएनन् । उनले यतिमात्रै भने, मलाई केही पनि थाहा छैन, बाबालाई सोध्नु होला । आफ्नै दाईको यस्तो गैर जिम्मेवार कुराले बालिकालाई थप पिडा दिइरहेको थियो ।
स्थानीय बासिन्दाले फोन मार्फत दिएको सूचनाका आधारमा पुगेका हामीहरु लाई देखेर उनले आफ्नो अनुहार लुकाईन् । हामीले उनको अनुहार हेरेर केही सांकेतिक मात्रै होइन उनको मनोविज्ञान बुझ्ने प्रयत्न पनि गरेका थियौं, तर उनले आफ्नो अनुहार देखाउनैं मानिनन् । अर्थात उनलाई हामीहरुले देखेकोमा लाज लागिरहेको थियो ।
२०६२ फागुन ३ गते जन्मिएकी सम्झनालाई ३ वर्षकै उमेरमा मानसिक रोगले सङ्क्रमण भएको आमा कविताको भनाई छ । छोरीलाई देउता लागेको भन्दै उनीहरुले काठमाडौंको दक्षिणकाली मन्दिरमा लगेर भाकल पनि गरे । सिन्धुलीका विभिन्न शक्तिपिठहरुमा पनि धाए । घरमा धामीलाई नचाएर कालो भाले पनि कयौं पटक काटिए तर, सम्झनालाई लागेको रोग निको भएन । कविता भन्छिन्ः खैं, मेरो छोरीलाई देउता लागेको रहेछ, निको नैं भएन, अन्यत्र लैजान पनि सकिंदैन, पैसाकै अभाव छ । विहान बेलुका छाक टार्नै मुस्किल परिरहेको छ ।
सम्झनाले सानो छँदै ‘माम’ भनेर आँगनमा उफ्रिएर हिडेको झल्झल्ती संझिएकी उनले छोरीको स्याहार सुसार गरिरहेकी छिन् । छोरीलाई केही पनि थाहा हुँदैन, दिसाप र पिसाव सँधै एकै ठाउँमा हुन्छ, त्यही भएर समय समयमा हेर बिचार गरिरहेको छु सम्झनाकी आमाले भनिन् ।
सम्झनालाई कमलामाई नगरपालिकाले मासिक रुपमा अपाङ्ग भत्ता उपलव्ध गराएपनि उनको स्वास्थ्य अबस्थावारे नगरप्रमुख खड्गवहादुर खत्रीले थाहा पाएको पनि दुई साता भएको रहेछ । बालिकालाई बाख्राको खोरमा बाँधेर राखिएको नगरका स्वास्थ्यकर्मी मार्फत जानकारी पाएको थिएँ, त्यसपछि घरमा पुगेर बुझ्दा सबै कुरा थाहा लाग्यो, नगरप्रमुख खत्रीले भने । नगरप्रमुख र ५ नम्वर वडा अध्यक्ष पूर्णवहादुर खड्काको टोलीले वालिकाको अबस्था अध्ययन गरेर बाख्राको खोरबाट तत्कालै हटाउन निर्देशन दिएको । वालिकालाई मासिक रुपमा दिईदै आएको अपाङ्ग भत्ता खोरबाट हटाएर घरमित्र नराखेसम्म नदिने सन्देश अभिभावकलाई दिई सकिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।
सङ्क्षिप्त प्रतिक्रिया दिंदै मेयर खत्रीले भने–आजको युगमा पनि वालवालिका लाई बाख्राको खोरमा बाँधेर राख्नु निन्दनीय छ, हामी उनको उपचारका लागि आवश्यक सहयोग र चाँजोपाँजो मिलाउँछौं । (कमलामाई फिचर सेवा)