रोनाल्डिन्हो जेलमुक्त

ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा छ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।

मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ । रोनाल्डिन्होसँगै उनका दाई रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

तारेखमा रिहा हुनका लागि १ दशमलब ६ मिलियन डलर तिर्न नसकेपछि दुबैलाई जेल सजाय भएको थियो । ४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यास लिएका थिए ।

ब्राजिलले २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य थिए । फिफा प्लेयर अफ दि इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।