नेइमारको बार्सिलोना फर्किने सपना पूरा नहुने संकेत

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब भित्र्याउनु वा अनुबन्धित गर्नु ‘अव्यवहारिक’ हुने अध्यक्ष बार्तोमेउले बताएका हुन् ।

आर्थिक अवस्थाका कारण इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्तिनेजको अनुबन्ध पनि प्रभावित भएको छ।

बार्तोमेउले स्पेनिस पत्रिकार स्पोर्टससँगको अन्तर्वार्ताको क्रममा बार्सिलोनाले गएको मार्चदेखि जुनको बिचमा कोरोना भाइरसको महामारीका कारण अपेक्षा गरिए भन्द निकै कम २०० मिलियन युरो मात्रै रेभिन्यू सिर्जना गर्न सकेको बताए । उनले भनेका छन्, ‘युरोपका सबै ठूला क्लब प्रभावित भएका छन् । यो प्रभाव एक वर्षमै सकिने छैन, तीन–चार वर्ष लाग्ने छ ।’

ब्राजिलियन नेइमार सन् २०१७ को अगस्टमा कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका थिए । उनी पुनः बार्सिलोना नै फर्किन चाहन्छन् । गएको वर्ष उनको अनुबन्ध सफल भएको थिएन । यो वर्ष पुनः कोरोना भाइरसको महामारीले प्रभावित गर्ने देखिएको हो ।

बार्तोमेउले भनेका छन्, ‘नेइमार? यो अवस्थामा, अव्यवहारिक हुन्छ । पिएसजी पनि उनलाई बेच्न चाहँदैन । बार्सिलोनाले लाएतारोका सम्बन्धमा इन्टर मिलानसँग कुरा गरेको हो, तर अहिलेको अवस्थामा ठूलो रकम लगानी गर्न सक्ने अवस्था छैन, सोही कारण वार्ता रोकिएको छ ।’