स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताएका छन्।
अवस्था काबु बाहिर जान नदिन बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्ने र पीसीआर परीक्षणको दायरा बढाउने मन्त्री ढकालको भनाइ छ।
उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको लागु गरियो भने त्यसले एकहदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ। अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर जानुपर्छ।’
उनले काठमाडौँमा कोरोनाको आगो सल्कियो भने निभाउन नसकिने र विष्फोट हुने बताए। ‘जनसंख्या यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भन्दापनि यो विस्फोटक हुन सक्छ’, मन्त्री ढकालले भने।
उनले संक्रमण बढी देखिएका जिल्लाहरुलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए। वीरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए।
त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौंभित्र आउने सबैलाई होम क्वारेन्टिन अथवा स्थानीय क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने उनले बताए।
उनले भने, ‘पाँच सयभन्दा बढी केसहरु भएका जिल्लाहरु, दुई सयभन्दा बढी केस भएका जिल्लाहरुमा अनुगमन गर्ने र मुल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छ। जस्तो वीरगंजमा अहिले जुनखालको संक्रमण देखिएको छ, त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ की भन्ने कुरामा छलफल गरेका छौँ।’
यस्तै मन्त्री ढकालले सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्वारेन्टिनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि पाँच दिनसम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टिनमा पठाउने व्यवस्था गरिएकाले जोखिम कम रहेको दावी गरे।