अर्का अध्यक्ष ओलीसँगको छलफल सकारात्मक भइसकेको छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भइनसकेकाे बताएका छन्।

आइतबार बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताबीच भएको छलफलको समिक्षा गर्न खुमलटारमा भएकाे बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफल त्यति सकारात्मक भइनसकेकाे व्रिफ्रिङ गरेका हुन्।

खुमलटार छलफलबारे प्रचण्डलाई उद्धृत गर्दै वरिष्ठ नेता माधव नेपाल निकट स्राेतले भन्यो, ‘ओलीसँगको छलफल सकारात्मक भइसकेको छैन। लामाे समयपछि हामी आज छलफलमा बस्याो। त्याे नै ठूलो कुरो हाे। अब भाेलि पनि भेट्ने कुरो छ। कुराे त्यति सकारात्मक भइसकेको छैन।’

पाँच दिनपछि आइतबार बिहान अध्यक्ष प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर ओलीसँग कुरा गर्न बालुवाटार पुगेका थिए।

छलफलमा ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए। उक्त छलफलमा भएका कुराबारे अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमा खनालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर ब्रिफिङ गरेका हुन्।

बिहान भएको छलफल सकारात्मक भएको र आपसमा छलफल गरेर भोलि फेरि बस्ने गरी टुंगिएको नेता नेम्वाङले जानकारी दिएका दिए।

बिहानको छलफलपछि ओली निकट नेताहरु पनि आन्तरिक छलफलमा व्यस्त छन्। ओली पक्षीय नेताहरु महासचिव विष्णु पौडेल, नेता नेम्वाङ, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहाकार राजन भट्टराईबीच दिउँसो सिंहदरबारमा छलफल भएको थियो।