जलन हत्या निन्दनीय !

सम्पादकीय

सिन्धुलीमा हालै घटेको क्रुरतापूर्ण महिला हत्याको घटनाले सिंगो देशमा महिलाको अबस्था कस्तो छ ? भन्ने कुराको चित्र एक पटक वाहिर आएको छ । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटकी ३२ वर्षिय शुशिला बम्जनलाई उनकै परिवारका सदस्यले पेट्रोल छर्केर क्रुरतापूर्ण गरिएको जलन हत्याको डरलाग्दो बिबरण सार्वजनिक भएपछि देशैभरका महिलावादीहरुले आफ्‌नो प्लाटफर्ममा विरोध जनाएका छन् ।
माइत बस्दै आएकी नन्द मिना बम्जनको योजनामा उनको शरिमा पेट्रोल छर्किएर आगो लगाउँदै हत्या भएको अनुसन्धानमा संलग्न अधिकारीले पुष्टि गरेपछि यो घटनाले सनसनी फैलिएको हो । छोरी र ६० बर्षिया सासु आमा मायाँरानी बम्जन मिलेर शुशिलाको हत्या भएको अनुसन्धानबाट खुलेको थाहा लागेको छ । मायाँरानीले एक स्थानीय युवासँग पेट्रोल मागेर लगेको २ घण्टापछि उक्त घटना घटेपछि ती युवानैं चकित बनेको प्रहरीलाई साबिति बयान दिइसकेको अबस्थाले अनुसन्धान प्रक्रिया सहज पनि बनाएको छ ।
हाम्रो समाजमा हुने पारिवारिक कलह, आर्थिक बिवाद र सामाजिक सञ्जालको गलत प्रयोगले अपराधका घटनालाई बढवा दिइरहेको देखिन्छ । नन्दले बारम्वार दिने मानसिक यातना र मारिदिने धम्कीका घटना सामान्य मान्दा जलन हत्या घटना घटन पुगेको देखिन्छ ।
अत्यन्त चलाखीपूर्ण रुपमा गरिएको हत्याको घटनालाई आत्मदाह बनाउने प्रयास पनि नगरिएको होइन । तर स्थानीय वासिन्दा एवम् मृतकको माइतीपक्षको दबाबका कारणले प्रहरी घटनाको तथ्यमा पुग्न सकेको देखिन्छ ।
तसार्थ हामी सबैले एकै साथ भन्नै पर्ने भएको छ– शुशिला जलन हत्या प्रकरणका मूख्य दोषी मानिएकाहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ । तब मात्रै हाम्रो समाजमा हुने यस्ता क्रुरतापूर्ण हत्यामा बिराम लाग्न सक्छ । यस्ता क्रुरतापूर्ण हत्याको जति बिन्दा गरेपनि कमै हुन्छ । नागरिक समाज, राजनैतिक दल र महिलावादीहरुले आफ्‌ना गतिविधीसँगै नागरिक सचेनाका अभियान पनि एकै साथ सञ्चालन गरेमात्रै यस्ता घटनामा कमी आउन सक्छ ।