पराजित भएपछि ओलीको ब्रिफिङ-अब यिनीहरूले हामीमाथि धरपकड गर्छन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।

म्तगणनाको शुरुआतदेखि नै पछाडि परेका ओलीलाई भेट्न गुण्डु पुगेका एमालेका केही केन्द्रीय सदस्य र नेताहरुसँग ओलीले अब रास्वपाको सरकारले विभिन्न हतकण्डा अपनाउने र आफूलाई जेल हाल्ने प्रयास गर्ने बताएका हुन् । ओलीलाई भेटेर निस्किएका एक नेताले भने–उहाँमा मैले पनि पार्टीमा सबैलाई मिलाएर लैजानुपथ्र्यो भन्ने महसुस भएको त पाइएन तर अब रास्वपाको बहुमतको सरकार बनेपछि यिनीहरुले अनेक उधुम गर्न खोज्छन् ।

हामीलाई धरपकड गर्ने, जेल हाल्ने तयारी छ । सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ । भदौ २३ र २४ यता जेजस्ता घटनाहरु भए सबै यहि परिस्थिति सिर्जना गर्नका लागि थियो भन्ने उहाँको कुरा छ । चुनाव रोक्न र प्रतिनिधि सभा पुनर्स्र्थापनाको मुद्दा सर्बोच्चबाट टुंगो लगाउन कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपाको साथ पाइएन भन्ने उहाँको कुरा थियो ।

चुनावी परिणाम आइरहेका बेला ओली निवासमा नेता कार्यकर्ताको आवतजावत भने पातलो देखिएको छ। ओलीले अब बन्ने रास्वपा सरकारले आफूसहित उनीहरुले भन्ने गरेका पूराना पार्टीका नेताहरुमाथि धरपकड, मुद्दा मामिला र जेल हाल्ने प्रपन्च गर्ने पूर्व संकेत सुनाएका छन् । ओलीले नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरुलाई सिध्याउन लामो समयदेखिको भूराजनीतिक डिजाइन सफल बनाउन खोजिएको समेत बताएका छन् ।