सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।
आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको एमाले उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले प्रदेशखबरलाई जानकारी दिए । बैठकमा सहभागी नेता घिसिङका अनुसार जेनजी आन्दोलनका क्रममा भएका आगजनी लुटपाटका घटना अराजक समूहले गराएको निश्कर्ष निकाल्दै लोकतान्त्रिक मूल्य मान्यताका आधारभूत स्तम्भहरु माथि षडयन्त्र नगर्न माग गरेको छ । बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेल, एमाले अध्यक्ष महेन्द्र देव श्रेष्ठ र माओवादी केन्द्रका केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैठकले सबैखाले निरंकुशता बिरुद्ध संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय भएको थाहा लागेको छ । यस अगाडि एमाले नेता खड्ग खत्री र उपाध्यक्ष घिसिङले एमालेका नेता कार्यकर्ताहरुलाई आगजनी गरेका भौतिक संरचनाहरुको सरसफाईमा जुट्न अपील गरेका थिए ।










