सेनाको किन बढ्यो सडकमा बाक्लो उपस्थिति !

सिन्धुली: नेपाली सेनाको सुरक्षा घेरामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरूको फोन बन्द भएका छन् ।
उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूले बताएका छन् । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका हुन् ।
अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म नयाँ कदम चाल्ने अनुमान गरिएको छ । सुरक्षा स्रोतका अनुसार त्यसैका लागि उपत्यका रहेका सेनालाई उपत्यका बाहिर र वाहिरका लाई उपत्यकामा लगिएको बताइएको छ ।
बागमती प्रदेश अर्न्तगत चितवन, मकवानपुर, धादिंग, नुवाकोट, काभ्रे र सिन्धुलीमा रहेका सैनिक वाहिनी र गणबाट हिजो रातीनैं सेनाहरु राजधानी पठाएको थाहा लागेको छ । समाचार स्रोतले चीन भ्रमण स्थगन गरेर बसेका प्रधानसेनापतिले आज मध्याराती नयाँ निर्णय गर्न सक्ने र त्यसबाट उत्पन्न परिस्थतिलाई नियन्त्रणमा लिन उपत्यकामा नयाँ अनुहारका सेना परिचालन गरिएको अनुमान गरिएको छ ।
कर्फयु आदेश जारी
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज बेलुका ८ बजेदेखी बिहान ५ बजेसम्मका लागि कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले साँझ एक सूचना जारीगर्दै कर्फयु आदेश जारीगर्दै रातको समयमा हिंडडुल नगर्न र भेला हुने काम नगर्न भनिएको छ ।
सडकमा सेना र प्रहरी
कर्फयुको आदेशसँगै आज बिहिवार राती नेपाली सेना र प्रहरीको गस्ती सडकमा बाक्लो देखिन थालेको छ । प्रहरीका अनुसार रातको समयमा हुने संभावित लुटपाटका घटनालाई मध्यनजरगर्दै सेना र प्रहरीको गस्ती बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जेनजी आन्दोलनका नाममा भएको आगजनी र लुटपाटका घटना रोकिएपनि त्यस्ता घटना बढ्नसक्ने अबस्थालाई गंभीरताका साथ लिंदै गस्ती बढाइएको बताए ।
उनले सिन्धुलीको अबस्थालाई सामान्यिकरण गर्न तथा शान्ति सुरक्षा एवम् अमनचयन कायम राख्न राजनैतिक दल, नागरिक समाज र उद्योगी व्यवसायीहरुलाई आग्रहगर्दै सो कार्यमा सुरक्षाकर्मीलाई सघाउन भनेका छन् ।
बिहिवार प्रदेशखबरसँगको कुराकानीका क्रममा प्रहरी उपरिक्षक सुवेदीले आफ्‌नो टोल छिमेकमा कुनै पनि अप्रिय घटना हुन लागेको सूचना थाहा लागेका तत्कालै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गर्न पनि आग्रह गरेका छन् ।