विदेशमा अलपत्र नागरिकको उद्धार गर्छौ : श्रममन्त्री यादव

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पारे । ‘हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं’, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उनले भने, ‘अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।’
सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उनले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको बताए । ‘नेपाललाई सुरक्षित राख्नुपर्छ, विदेशबाट नेपाली ल्याउँदा भावनामा बगेर मात्रै हुँदैन’, मन्त्री यादवले भने, ‘नेपालमा सङ्क्रमण फैलने अवस्था आउन नदिन उनीहरुलाई सम्बन्धित मुलुकमा नै स्वास्थ्य परीक्षण गरी कोभिड–१९ सङ्क्रमण नभएको सुनिश्चित गरेर भित्रियाउनुपर्छ ।’ विदेशमा कति नागरिक छन् भन्ने एकीन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्दै उनले विदेशमा रहेका सबै श्रमिकको दर्ता गर्ने कामको थालनी गरिएको बताए ।
‘कुन देशका कहिले गएको हो, के काम गर्ने हो ? उनीहरुको रहदानीदेखि नागरिकता नम्बरसम्म विवरण रहेका प्रश्नावली बनाएर पठाएका छौँ’, उनले भने, ‘उसको सीप के हो ? कति दिन देखि काम गरेको हो, कोरोनाबाट सङ्क्रमित भएको हो वा होइन भन्ने सबै विवरण भर्न मिल्ने गरी फारम बनाएका छौँ ।’ परराष्ट्रमन्त्रालय मार्फत श्रमिककको दर्ता गर्ने प्रक्रिया शुरु भएको उनले जानकारी दिए । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले परराष्ट्र र श्रम मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार हाम्रो साथमा छ भनेर विश्वस्त पार्न सक्नुपर्ने बताए । ‘खाडी र अन्य मुलुकमा त्रास कायमै छ, नेपाली आतङ्कित भएको खबर सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘अहिल्यै सबै नागरिक फिर्ता ल्याउन सकिँदैन तर सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरेर आपतमा परेका नागरिकलाई स्वदेश फर्काउने ढङ्गबाट काम गर्नुपर्छ ।’
सांसद बिन्दा पाण्डेले कोभिड–१९ का कारण अलपत्र परेर नेपाल आउन चाहनेको यकिन तथ्याङ्क कुनै पनि निकायले दिन नसक्दा जोखिमपूर्ण अवस्थामा कति नागरिक छन् भनेर भन्न नसकिएको बताइन् । विदेशमा अलपत्र गर्भवती, बच्चाका आमा, अवैधानिक बसोबास गरिरहेका, बिरामी तथा विद्यार्थीको तथ्याङ्क तत्काल सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उनले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली सङ्घले जोखिमम रहेको नागरिकको पहिचान गर्नुपर्ने बताइन् । सांसद सुजाता परियारले विदेशमा रहेका नेपालीको सही तथ्याङ्क सरकारले दिन जरुरी रहेको भन्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउन सरकारको तर्फबाट कस्तो पहल भइरहेको भन्दै जिज्ञासा राखेकी थिइन् । विदेशमा रहेका कतिपय नागरिक कोरोना सङ्क्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेको भन्दै उनले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन आग्रह गरिन् ।