सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि इलाका प्रहरी कार्यालय भिमानले बा ४ ख ५०६४ नंको माइक्रोलाई शनिवार काठमाडौँ जान दिइएको थियो ।
समाचार स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गको सुनकोशीबाट उक्त माइक्रोलाई भने एसपी रञ्जु सिग्देलको निर्देशनमा सुनसरी नै फिर्ता पठाइएको बताइएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा धर्मप्रचारमा रहेका ति पाकिस्तानी नागरिकहरु सिन्धुली आउनु अगाडि २ नं. प्रदेशका जिल्ला प्रशासनसँग समन्वयगर्दै आएको बुझिएको छ । यसरी काठमाडौ हिडेका पाकिस्थानी नागरिकहरुलाई स्थानीय प्रशासनले जान दिने र प्रहरीले रोक्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सिन्धुली प्रहरीले सुनसरी जिल्ला प्रशासनले दिएको पासलाई अस्वीकारगर्दै गर्ने निर्णय भएपछि उनीहरुलाई नेपालथोकबाट फर्काईएको सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले बताए ।
“उनीहरु सेटिग मिलाएर आएको बुझिएको छ । उनीहरु आफ्नो देश पाकिस्तान जान हिडेको थिए । तर परराष्ट मन्त्रालयले पास नपठाएपछि उनीहरुलाई फिर्ता गरिएको हो” उनले भने । -फोटो: अनिल भण्डारी