सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल अहिले नै सुरु गर्नु अति हतारो हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले बताएका छन् ।
सिरी ए का क्लबहरुलाई सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर टिम प्रशिक्षण भने अहिले स्वीकृत छैन ।
टिम प्रशिक्षण मे १८ देखि सुरु गर्ने तयारी छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबलका खेलहरु स्थागित छन् ।
खेल मन्त्री स्पादाफोरोले भनेका छन्, ‘धेरै कुरा परिवर्तन भएका छन् । तर अझै पनि लिग सुरु गर्ने बारे कुरा गर्ने बेला भएको छैन ।’
सिरी ए र इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) दुवै यो सिजन पूरा गर्न चाहन्छन् । तर इटाली सरकारले भने अहिले नै यसबारे निर्णय गरिसकेको छैन ।
फ्रान्सको लिग वान फुटबलका बाँकी खेल रद्द गरिए र पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उपाधि विजेता घोषित गरियो ।
जर्मन बुण्डेस लिगा फुटबल सुरु हुने तयारी छ । डच लिग भने रद्द गरियो । स्पेनिस ला लिगामा प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको छ । इंग्लिस प्रिमियर लिग पनि सुरु गर्नका लागि उपयुक्त विकल्पको खोजी भइरहेको छ ।