नेपालगञ्जमा एकैपटक धेरै कोरोना सङ्क्रमित भेटिनुको कारण

नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ।

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको जानकारी दिए।

उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासी धेरै सङ्क्रमित देखिएका हुन्।

नेपालगञ्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाइ छ।

उनले भने, “पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगञ्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।”

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै उनले नआत्तिन आग्रह गरे।

नेपालगञ्जवासीले लकडाउनको पूर्ण पालना नगर्दा सङ्क्रमित एक्कासी बढेको कतिपयको भनाइ छ।