इटाली, फ्रान्स र स्पेन संक्रमणलाई जित्ने बाटोमा, दैनिक मृत्यु हुनेको संख्या कम

युरोपमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मध्ये फ्रान्स, इटाली र स्पेनमा पछिल्लो समय लगातार सुधारका संकेत देखिएका छन् ।

संक्रमण अन्त्य हुने बाटो तिर लागेको देखिएको छ । तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै दुई महिना यताकै कम देखिएको छ ।

फ्रान्समा आइतबार १३५ तथा स्पेनमा १६४ जनाको कोभिड–१९ बाट मृत्इु भयो र यो गएको मार्च मध्य यताकै कम हो । यस्तै इटालीमा आइतबार १७४ जनाको मृत्यु भयो, यो संख्या पछिल्लो दुई महिना यताकै कम हो ।

यसैबिच फ्रान्सका डाक्टरहरुले बताएका छन् कि देशमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म सोचिए भन्दा पहिलेदेखिनै अर्थात सन् २०१९ को अन्त्यतिरैदेखि थियो ।

बेलायतमा आइतबार कोरोना भाइरसका कारण ३१५ जनाको मृत्यु भएको छ । योसँगै बेलायत कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा तेस्रो नम्बरमा गएको छ । तर पनि बेलायतले महामारीको उच्च तह देखिसकेको र अस्पताल भर्ना गर्नु पर्ने संक्रमितको संख्या कम हुँदै गएको बताइएको छ ।

बेलायतमा अहिलेसम्म २८ हजार ५२० जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै इटालीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ९०० तथा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ६७४ भन्दा बढीको ज्यान गएको छ ।

विश्वभर कुल संक्रमितको संख्या ३५ लाख तीन हजार भन्दा बढी पुगेको छ । यस्तै विश्वभर अहिलेसम्म दुई लाख ४७ हजार ३०६ जनाको ज्यान गएको जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।