पानी माग्दै दुम्जामा नागेश्वरी पूजा

सिन्धुली जिल्लाकाे सुनकाेसी गाउँपालिका १ दुम्जाकाे सिमलचाैरमा वर्षाैदेखि मनाइदैआएकाे नागेश्वरी पूजाकाे प्रचलन छ । समयमै वर्षा नभएपछि पानीको माग गर्दै नागेश्वरीकाे पूजा गरिन्छ । याे पूजा हरेक वर्ष गरिन्छ । नागेश्वरी पूजामा सिमलचाैर, छाप, दारिमबाेट, डिङ्नेचाैर, आँपघारी, रूपटार, बालुवाटार, भुत्याहाटार, देवीस्थानका वासिन्दाको सहभागिता हुने गरेकाे छ । सिमलचाैरका अमन्तिनाथ काेइरालाकाे घरबाट पञ्चैबाजासाथ पूजा र फूलपाति निकालिन्छ । बाजागाजासाथ बालुवाटारमा रहेकाे नागेश्वरी थानमा पूजा र फूलपाति ल्याइन्छ । नागेश्वरीमा पाठी बलि दिने प्रचलन रहेकाे छ । साे समयमा सिमेभूमे, देवी देउरालीकाे समेत पूजा गरिन्छ । गाउँलेहरू सबैले एकएक माना चामल ल्याउँछन् । पाठी र मरमसलाकाे खर्च दामासाहीले उठाइन्छ । पूजापछि भाेजभतेर दामासाहीले लाग्छ । राेशीखाेलाकाे बगरमा बसेर धेरैपटक नागेश्वरीकाे प्रसाद मैले पनि खुवै मिठाेसँग खाएकाे छु । पञ्चैबाजा बजाएर पानी मागेकाे छु । बेलुका पञ्चैबाजामा नाच्दै एकआपसमा पानी छ्यापाछ्याप गर्दै ‘हरहर महादेव पानी देउदेउ’ भन्दै पानी माग्ने प्रचलन छ । बेलुका बाजा बजाउँदै सिमलचाैरतिर उकालाे लाग्दै गर्दा पानी परेर निथ्रुक्क भिजाएका थुप्रै घटना छन् । त्यसैले पनि नागेश्वरी पूजाप्रति स्थानीयकाे अगाध आस्था छ ।

May be an image of 3 people and food

तस्वीरः रूपक श्रेष्ठ