दुधौली नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले भन्योः राम्रो कामको समर्थन र जनविरोधी कामको प्रतिरोध गर्छौं

नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगरकमिटीले आज नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दुधौली नगरअध्यक्ष लक्ष्मण कार्कीको नेतृत्वमा रहेको एमाले नेता कार्यकर्ताहरुको समूहले आज नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई बुझाएको पत्रमा अघिल्लो स्थानीय सरकारले अगाडि बढाएका दिर्घकालिन योजनाका कामहरुलाई निरन्तरता दिन र राजनैतिक पुर्वाग्रहका आधारमा कर्मचारीहरुलाई दुःख नदिन आग्रह गरिएको छ ।
आज बुझाइएको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले गरेका राम्रा कामहरुको समर्थन र जनविरोधी कामको कडा प्रतिवाद गर्न दुधौली एमाले तयार रहेको पनि बताइएको छ । बिहिवार एमाले नगरसचिव सुमन चौधरीले ज्ञापनपत्र वाचन गरेर सुनाएपछि अध्यक्ष कार्कीले नगरप्रमुख अधिकारीलाई बुझाउनु भएको थियो । कार्यक्रममा राष्टिय युवा संघ नेपाल, अनेरास्ववियुलगायत जनवर्गिय संगठनहरुको सहभागिता रहेको थियो ।