भट्टराईसहित ९ जना पदमुक्त, संघीय परिषद् अध्यक्षमा अशोक राई

जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो।

बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय सदस्य मधु सिंहले जानकारी दिइन्। डा. भट्टराईसँगै  गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोँबलाई कार्यकारिणी भूमिकाबाट पदमुक्त गरिएको हो।

बैठकमा अध्यक्ष यादवले राखेको प्रस्ताव केन्द्रीय सदस्यहरुले एक मतले पारित गरेका हुन्। पार्टी विरोधी गतिविधिमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्बाही गरी पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिइन्।

बैठकका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छन्। जसपामा विवाद भएपछि पार्टीका भट्टराईले काठमाडौंमा र यादवले वीरगञ्जमा केन्द्रीय कमिटी बैठक गरेका हुन्। वीरगन्जमा आयोजित जसपाको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी थिए।