फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् । कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ ।
आउँदो जुन १७ देखि जुलाई २५ बिचमा सबै खेल सक्ने तयारी भए पनि फ्रान्स सरकारले आउँदो सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि लिग वान र लिग टूका बाँकी खेल नहुने भएका हुन् ।
फ्रान्स सरकारले बन्द रंगशालामा पनि खेल गर्न नपाउने गरी सेप्टेम्बरसम्म प्रतिबन्ध लगाएको हो । फ्रान्सले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन भने आउँदो मे ११ देखि खुकुलो बनाउने भएको छ ।
फ्रान्सेली फुटबल गतिविधिहरु मार्च १३ देखि अनिश्चित समयका लागि रोकिएका छन् । सिजनका बाँकी खेलहरु नहुने भए पनि यो सिजनकुनै टिम बढुवा वा रेलिगेशनमा पर्ने–नपर्ने र लिगका विजेताको घोषणा हुने–नहुने निर्णय भइसकेको छैन ।
लिग वानमा हालसम्म २७ खेल खेलेको पेरिस सेन्ट–जर्मेन ६८ अंकसहित शीर्ष स्थानमा छ । २८ खेलबाट ५६ अंकसहित मार्सेइली दोस्रो स्थानमा रहेको छ ।