यो सिजनका खेल होइन अर्को सिजनको तयारी गर्नुपर्छः फिफाका डाक्टर

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका डाक्टरले कोरोना भाइरसका कारण रोकिएका यो सिजनका फुटबल लिगहरु सुचारु गर्दा जोखिम हुने चेतावनी दिएका छन् । त्यसको सट्टा आउँदो सिजनको तयारीमा जुट्नु पर्ने फिफाका प्रमुख डाक्टरले बताएका हुन् ।

डा. मिचेल डी’होग्हेले कोरोना भाइरसको महामारी जारी रहेकै बेला यो सिजनका बाँकी खेलहरु सञ्चालन गर्ने पक्षमा आफू नरहेको र यसले जोखिम निम्त्याउने बताए ।

फिफाको मेडिकल कमिटिका प्रमुखले भनेका छन, ‘मेरो प्रस्ताव त यदी सम्भव छ भने आउँदा हप्ताहरुमा प्रतिस्पर्धात्मक खेलहरु गर्नु हुँदैन । आउँदो सिजन राम्रोसँग सुरु गर्न सकियोस् भन्नेमा प्रयास गर्नु पर्छ ।’

युरोपियन लिगहरुले प्रशासकीय निकाय युइएफएलाई यो सिजनका बाँकी खेलहरु गर्न चाहन्छन् वा चाहदैनन् भन्ने कुरा मे २५ सम्म जानकारी गराउनु पर्ने छ ।