डच शीर्ष लिग फुटबलको सिजननै रद्द

डच फुटबलको शीर्ष लिगको यो सिजन रद्द भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल हुने सम्भावना नभएपछि लिगको यो सिजन नै रद्द गरिएको हो ।

लिगको उपाधि कुनै पनि टिमलाई दिइएन भने यो सिजन कुनै पनि टिम रेलिगेशनमा परेका छैनन् । नेदरल्याण्डस सरकारले प्रमुख गतिविधिहरु आउँदो सेप्टेम्बर १ सम्म गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि यो निर्णय भएको हो ।

डच फुटबलको प्रशासकीय निकाय केएनभिबीले भनेको छ, ‘यो सिजनका बाँकी खेलहरु खेलाउन सक्ने सम्भावना रहेन।’

कोरोना भाइरसको महामारीका कारण लिग स्थगित हुँदासम्ममा २६ खेल भएका थिए । त्यो बेलासम्म शीर्ष स्थानमा अजाक्स र एजेड अलक्मार रहेका थिए । दुवैको समान अंक भए पनि गोल अन्तरका आधारमा अजाक्स अघि रहेको थियो ।