टोकियो ओलम्पिक खेलकुदमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीको नाम पठाइएको पाइएको छ।
नेपाल ओलम्पिक कमिटीले पार्कीको स्थानमा महिला एक सय मिटरकी धाविका सरस्वतीको नाम पठाएको हो।
लामो समयदेखि तयारी गरिरहेका पार्कीलाई प्रतिस्थापन गर्न नेपाल ओलम्पिक कमिटीले गत साता पार्कीको स्थानमा अर्को कुनै खेलाडीको नाम सिफारिस गर्न नेपाल एथलेटिक्स संघलाई अनुरोध गरेको बुझिएको छ।
पार्कीको नाम कसरी काटियो भन्ने विषयमा अहिले नेपाल ओलम्पिक कमिटीमा आकस्मिक बैठक बसिरहेको छ।
ओलम्पिक खेलकुदमा हरेक देशलाई पौडीका दुई जना खेलाडी र एथलेटिक्सका दुई जना खेलाडीलाई सोझै सहभागिता दिइँदै आएको छ। यसपटक भने एथलेटिक्समा एक जनाको मात्र कोटा आएको भन्दै पार्कीको सहभागिता निश्चित भइसकेको नेपाल ओलम्पिक कमिटीले बताउँदै आएको थियो।