चेल्सीका खेलाडी मेसन माउन्टले आफ्नो क्लब विश्वकै उत्कृष्ट रहेको बताएका छन्।
इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेर चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेपछि माउन्टले यस्तो बताएका हुन् ।
काई हाभर्ट्जले ४२ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई दोस्रोपटक युरोपियन च्याम्पियन बनाउन पर्याप्त बन्यो । यो सिजन एफए कपको सेमिफाइनलमा पनि चेल्सीबाट म्यानचेस्टर सिटी पराजित भएको थियो ।
माउन्टले भनेका छन्, ‘हामी फाइनलमा आयौँ र जित्यौँ । यो अति नै विशेष अवसर हो ।’
गोलका लागि सहयोग गरेका मिडफिल्डर माउन्टले भने, ‘मैले यसअघि चेल्सीबाट दुई फाइनल खेलेको थिएँ र हामी पराजित भयौँ । तर यो विशेष बन्यो । यसलाई म शब्दमा व्यक्त गर्न सक्दिन । चेल्सीबाट उपाधि जित्ने सपना थियो, पूरा भयो ।’
उनले अघि भने, ‘यहाँसम्म आइपुग्न हामीले बलिया टिमसँग खेल्यौँ । हामी विश्वकै उत्कृष्ट एवम् बलियो टिम हौँ र यो हामीबाट कसैले खोस्न सक्दैन ।’