अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए।
अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो।
स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका थिए जसका लागि यो हरेक वर्ष जन्मदिनका दिन गर्ने एउटा कार्यक्रम थियो। तर १७५ फिटको उचाइमा पुग्दा उनीहरूको प्यारासुटमा समस्या आयो। २६ वर्ष पुग्नु भन्दा एक दिनअघि बन्दी गृहमा काम गर्ने मेसीनाको जमिनमा बजारिएर मृत्यु भयो। स्कट भने बाँचे तर केही क्षण मै अचेत भए।
सन् २०१४ को अगस्टमा ११ दिनपछि होस आउँदा चिकित्सकहरूले उनको घाँटी भन्दा तलको भागमा पक्षाघात भएको बताए।
स्कट त्यसपछि न्यूयोर्कस्थित आफ्नो परिवार बस्ने भवनमै बस्न थाले। ह्विलचेअर चलाउन उनले मुखबाट जोएस्टीक चलाउन थाले। उनी नियमित रूपमा माउन्ट सीनाइ अस्पताल जान्थे।
सन् २०१९को मार्चमा त्यहाँ उनले डाक्टर डेभिड पुट्रीनोलाई भेटे। उनले विभिन्न तरिकाबाट बिरामीहरूको स्वास्थ्य सुधार गर्ने प्रयास गर्थे।
हाइ पर्फर्मेन्स एथलिटहरूलाई तालिम दिन प्रयोग गरिने विधिका साथै भर्चुअल रियालिटी जस्ता प्राविधिक हलको उनी प्रयोग गर्थे।

स्कटले आफ्नो अवस्थासँग जुझिरहेका बेला यी दुईको भेट भयो। स्कटले अब आफ्नो जीवनको कुनै लक्ष्य नभएको महसुस गरिरहेका थिए र पुट्रीनोले उनको सहयोग गर्न सक्छन् की भनेर उनलाई सिफारिस गरिएको थियो।
“हामीले केहीबेर एक अर्कालाई हेरेरै बस्यौँ,” पुट्रीनोले भने। “र त्यसपछि मैले सोधेँ: तिमीलाई के गर्न मन छ?”
स्कटले आफूलाई अरूसँग भिडिओ गेम खेल्न मन पर्ने बताए। पुट्रीनो आश्चर्यमा परे।
स्कट जस्तो पक्षाघात भएका व्यक्तिले अरूसँग प्रतिस्पर्धात्मक भिडिओ गेम खेलेको उनले देखेका थिएनन्।

केही समयपछि उनीहरूले अस्पतालमै एनबीए टुके खेल प्लेस्टेसनमा लोड गरे।
स्कटले विभिन्न किसिमका सेन्सर जडित जोएस्टीकको प्रयोग गरी गेम खेले। हावा तानेर वा हावा फालेर त्यसबाट खेल नियन्त्रण गर्न सकिन्थ्यो।
स्कटले आफ्नो ओठको सहाराले जोएस्टीक सार्थे र बास्केटबल खेलाडीहरूलाई आफूले चाहे जसरी नियन्त्रण गर्थे।
“यो अविश्वसनीय रूपमा निपुण अनि कुशल थियो,” पुट्रीनोले भने। “र एक्कासी उनले मलाई हाएल कायल पार्न थाले।”










