नेपाल-दाहाल पक्षको संसदीय दलको बैठक आज

नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ। ओली पक्षले आइतबार बैठक बोलाएपछि दाहाल नेपाल पक्षले शुक्रबार नै बैठक बोलाउन लागेको हो।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि बैठक बोलाएपछि दाहाल नेपाल पक्षले त्यसअघि शुक्रबार नै बैठक राख्ने तयारी गरेको सांसद देव गुरुङले जानकारी दिए।

गुरुङले भने, ‘हामीले संसदीय दलको बैठक शुक्रबार नै बोलाउने तयारी गरेका छौँ। त्यसैको तयारीका लागि अहिले छलफलमा छु।’

गुरुङलाई हटाएर ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका १७३ जनै सांसदलाई एसएमएस पठाएपछि अर्को पक्ष झस्केको छ। भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएसमार्फत खबर गरिएको जानकारी दिए।

उनले भने, ‘दलको बैठक २३ गते दिनको ३ बजे लोत्सेहलमा बस्ने गरी सबै सांसदलाई एसएमएस गरेका छौँ।’ संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन गर्न संसद सचिवालयलाई आग्रह गरेको छ।