शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड महत्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड एल्चीसँग १–१ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा २० औँ मिनेटमा लुका मोड्रिचको गोलबाट जिनेदिन जिदानको टिम रियल मड्रिडले अग्रता लियो ।

तर ५२ औँ मिनेटमा पाएको पेनाल्टीमा चाभेस डे ला टोरेले एल्चीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।
बराबरीमा रोकिएर रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मिड्रडसँग अंक बराबरी गर्ने मौका गुमायो । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १६ खेलबाट ३३ अंक भएको छ ।
शीर्ष स्थानको एथ्लेटिको मड्रिडले दुई खेल कम खेले पनि ३५ अंक बनाएको छ । रियल मड्रिडलाई बराबरीमा रोकेको एल्ची १४ खेलबाट १६ अंकसहित १५ औँ स्थानमा पुगेको छ ।