शीर्ष स्थानको टोटनह्यामले अंक दूरी बढाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले १–१ को बराबरीमा रोकेको छ ।
अवे मैदानमा भएको खेलमा २३ औँ मिनेटमा ह्यारी केनको गोलबाट टोटनह्यामले अग्रता लियो । तर त्यसलाई उसले खेलको अन्तिम समयमा जोगाउन सकेन । ८१ औँ मिनेटमा जेफरी स्लापले क्रिष्टल प्यालेसका लागि बराबरी गोल गरे ।
सो गोल हुनुमा टोटनह्यामका गोल रक्षक हुगो लोरिसको कमजोरी कारक रहको दाबी गरिए पनि प्रशिक्षक जोसे मोरिन्होले सो कुरा खारेज गरेका छन् ।
बराबरीपछि शीर्ष स्थानको टोटनह्यामको १२ खेलबाट २५ अंक भएको छ । समान २५ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ ।
आइतबार राति नै भएको खेलमा लिभरपुल पनि बराबरीमा रोकियो । अवे मैदानमा भएको खेलमा ७९ औँ मिनेटमा पेनाल्टी मार्फत मोहम्मद सालहले गरेको गोलबाट लिभरपुलले हार टारेको हो ।
त्यसअघि फुलह्यामका लागि २५ औँ मिनेटमा डी कोर्डोभा–रिडले गोल गरेका थिए।